रबि फेरि शीर्षस्थानमा

0
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रबि खड्का शीर्षस्थानमा उक्लिएका छन् । बिहीबार १–अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३–अन्डर २ सय १ सहित शीर्षस्थानमा उनी फेरि उक्लिएका हुन् । पहिलो दिनका लिडर उनले साविक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारेका छन् । १–अन्डर ६७ सहित समग्रमा १–अन्डर २०३ को स्कोरमा भुवन दोस्रो स्थानमा रहे ।

२–ओभर ७० मा तेस्रो दिनको खेल सकाएका भुवन कुमार रोक्का समग्रमा इभन–पार २ सय ४ सहित तेस्रो स्थानमा छन् । एमेच्योर खेलाडी सदभाव आचार्यले २–ओभर ७० मा खेल सकाए । समग्रमा १–ओभर २ सय ५ को नतिजामा चौंथो स्थानमा रहे । एमरच्योरतर्फ उनी शीर्षस्थानमा रहेका छन् ।

दिनेश प्रजापति समग्रमा २–ओभर २ सय ६ सहित पाँचौं स्थानमा रहे । उनले ३–ओभर ७१ मा खेल सकाए। नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबास आचार्यले खराब प्रदर्शन गर्दै ४–ओभर ७२ मा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७ सहित छैटौं स्थानमा झरे । एमरच्योरतर्फ सुबाश सदभावभन्दा २ स्ट्रोकले पछि छन् ।