भूतपूर्व सैनिक सम्मेलन सम्पन्न


काठमाडौं ।

नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन शुक्रबार तनहुँको खैरेनीटारस्थित नं ३ बाहिनी अड्‍डामा तनहुँ, गोरखा र लमजुङ्ग जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरुलाई सैनिक जीवनका दौरान प्राप्त ज्ञान तथा सीपको सदुपयोगद्वारा आ-आफ्नो क्षेत्रबाट समाज सेवामा सदैव अग्रसर रहन र स्वावलम्वी एवं भरोसादार नागरिकको रुपमा स्थापित हुन सल्लाह दिएका ।

आफ्नो समाजको स्तर अभिवृद्धि गर्न जति धेरै योगदान पुर्‍याइन्छ त्यति नै छिटो र प्रभावकारी तवरबाट समस्त नेपाली जनताको समग्र स्तर अभिवृद्धि हुँदै जाने बताउँदै प्रधान सेनापतिले अवकाश प्राप्त सैनिक व्यक्तिबाट गरिने सानो परिश्रम तथा स-साना कोसिसले समष्टिगत रुपमा ठूलो रुप लिई सम्पूर्ण नेपाली जनताको उज्ज्वल भविष्य प्राप्तिको लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

सोही क्रममा उनले भूतपूर्व सैनिक तथा आश्रित परिवारहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप सैनिक कल्याणकारी कोषको पारदर्शी रुपमा अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्नेतर्फ नेपाली सेना प्रयत्नशील रहेको बताए । सम्मेलनमा लमजुङ्ग जिल्ला निवासी ८७ वर्षका सिपाही कृष्ण बहादुर रावल र स्वर्गीय सुवेदार थिर बहादुर खत्रीको श्रीमती ९४ वर्षकी एकल महिला दीर्घ कुमारी खत्रीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमी र व्यवसायीहरु दुई जनालाई प्रशंसा पत्र एवं पुरस्कार वितरण गरिएको थियो ।

 

सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ६ जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त १० जनालाई व्हिल चेयर तथा बैसाखी र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो ।

भूपू सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि अमर पन्त तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रिय सभापति सहायक रथी दिगम्वर शम्शेरले मन्तव्य राख्नु भएको सम्मेलनमा बलाधिकृत रथी सरोज प्रताप राणाले समापन मन्तब्य राख्नु भएको थियो ।

सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, जिल्ला समन्वय प्रमुख लगायत जनप्रतिनिधिहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उपरथी राम बहादुर गुरुङ्ग र उपरथी देवेन्द्र बहादुर मेधासी जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनकै अवसरमा बिहिबार र शुक्रबार  सैनिक मेडिकल टिमद्वारा सम्मेलन स्थलमा दुई दिने स्वास्थ्य शिविर संचालन गरि विभिन्न प्रकारका स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ । यसै क्रममा मिति २०७९ चैत्र २० गते महोत्तरी जिल्लाको बर्दिवासस्थित श्री मध्य पूर्वी पृतना हे।क्वा। र चैत्र २१ गते सिन्धुलीस्थित श्री बर्द बहादुर गणमा भूतपूर्व सैनिक सम्मेलन संचालन गर्ने योजना रहेको छ ।