सभामुखले आधारहीन अभिव्यक्ति फिर्ता लिनुपर्छ : महासंघ

0
Shares

काठमाडौँ।

नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेबाट पत्रकारिताप्रति आएको आधारहीन अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको छ।

शुक्रबार सभामुख घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुख घिमिरेले नेपाली पत्रकारिता बिक्री हुने गरेको तथ्यहीन आरोप लगाएका थिए।

त्यस अभिव्‍यक्तिको सशक्त खण्डन गर्दै महासंघले नवनिर्वाचित सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् रहेको जनाएको छ।

‘नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ।’महासचिव रोशन पुरीद्वरा जारी विज्ञप्तिमा भनिएको छ ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएर सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो। तर, सचिवालयबाट आधिकारिक धारणा आउन नसकेको पनि विज्ञप्तिमा जनाइएको छ।

साथै महासंघले सभामुखलाई आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिनसमेत आग्रह गरेको छ। साथै सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघले कानुनी लगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउनेसमेत बताएको छ।