शुक्रको कीर्तिमानी प्रदर्शन

0
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन् ।

११–अन्डर ६१ को उत्कृष्ट प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष कीर्तिमान कायम गरेका हुन् । सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, अभिजत सिंह चड्डा र समिम खानले १०–अन्डर ६२ खेल्दै कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमानलाई १० बर्षपछि शुक्रले तोडेका हुन् । योसँगैं शुक्रले समग्रमा १८–अन्डर १ सय २६ को स्कोरसहित भुवन नगरकोटीलाई ३ स्ट्रोकले पछि पारे ।

९–अन्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५–अन्डर १ सय २९ सहित दोस्रो स्थानमा रहेका छन् । ९–अन्डरको स्कोरमा उनले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गरे । एमेच्योर खेलाडी सदभाव आचार्यले ३–अन्डर ६९ खेल्दै समग्रमा ३–अन्डर १ सय ४१ को स्कोर सहित तेस्रो स्थानमा उक्लिएका छन्। नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ १–अन्डर १ सय ४३ सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् । सुबाशले १–अन्डर ७१ र जयरामले ३–ओभर ७५ मा दोस्रो दिनको खेल सकाए ।

३६ होलको समाप्तीमा १३–ओभर सम्म खेल्ने २१ प्रो र ७ एमेच्योर गरी कुल २८ खेलाडीले कट बनाएका छन् । एमेच्योरतर्फ सद्भाव र सुबाशसँगै युवराज भुजेल, टासी छिरिङ, सुरेश तामाङ, निश्चय जङ्ग रायमाझी र क्याप्टेन नोर्बु शेर्पाले पनि अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गरे।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेकाछन्। प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।