थोत्रा सवारी साधन चलाउने १० जना चालक कारबाहीमा

0
Shares

काठमाडौं । यान्त्रिक चेकिङ्गमा अवस्था ठीक नभए (थोत्रा) सवारी साधन चलाउने १० जना चालकलाई प्रहरीले कारबाही गरेको छ ।

हिजो मंगलबार कीर्तिपुरमा ट्राफिक प्रहरीको विशेष चेकजाँचमा यान्त्रिक अवस्था ठीक नभएका सवारी चालकलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।

दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा १ सयभन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका १० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले आग्रह गरेका छन् ।

अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ ।