धुलिखेल अस्पतालमा ‘ब्रेस्ट क्यान्सर’ सम्बन्धी दुई दिने सम्मेलन



काभ्रे। 

धुलिखेल अस्पतालको आयोजनामा ब्रेस्ट क्यान्सर सम्बन्धी दुई दिने गोष्ठी धुलिखेलमा सुरु भएको छ । गोष्ठीमा नेपालका विभिन्न अस्पताल तथा विभिन्न देशका विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको छ । ब्रेस्ट क्यान्सर विश्वमा अत्यधिक हुने भित्र पर्दछ ।

धुलिखेल अस्पतालले ग्रामीण समुदायका व्यक्तिहरूलाई सुलभ, सहज र कम खर्चमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरेका आउटरिच सेन्टर मार्फत पनि महिलाहरूले सहज उपचार प्राप्त गरिरहेको अस्पतालका डाक्टर सुनिला शाक्यले बताउनु भयो । ‘अस्पतालको प्राथमिकतामा परेका विभिन्न रोगहरु मध्ये महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर, ब्रेस्टको क्यान्सर स्क्रिनिङ्ग लगायत छन्’–डा. शाक्यले भन्नुभयो–‘ग्रामीण भेगका महिलाहरु अस्पतालसम्म आएर उक्त रोगको परीक्षण गराउन, रोगको पहिचान भए पछि उपचार गराउन र रोग लाग्नु अगावै सचेत रहने गरी जनचेतनामुलक जानकारी गराउने अभियानमा कसरी लाग्न सकिन्छ भन्ने उदेश्यका साथ यो गोष्ठी आयोजना गरिएको हो ।’ गोष्ठीमा नेपाल भित्र र बाहिरका १७ जना विशिष्ठ ब्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

धुलिखेल अस्पतालका प्याथोलोजिस्ट प्रोफेसर डाक्टर रमेश माकजु, एकेडेमिक नर्सिङ्ग डाईरेक्टर डा. कुन्तादेवी पुन, गाईनोलोजिस्ट डा. सुनिला शाक्य, रेडियोलोजिस्ट डा. सुविन्द्र कार्की, सर्जन डा. यज्ञरत्न शाक्य, सर्जन डा.गोनिस हाडा, नर्सिङ्ग विशेषज्ञ दयालक्ष्मी वैद्य, नेपाल क्यान्सर अस्पतालका सर्जन डा. प्रफुल्ल शाक्य, वीर अस्पतालका रेडियोलोजिस्ट डा. सन्ध्या चापागाई, धुलिखेल अस्पतालका डा. जनकरमण पराजुली र पाटन अस्पतालका डा. अरुण शाहिले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

त्यस्तै अन्तर्राष्ट्रिय स्तरका कार्यपत्र प्रस्तुत गर्नेहरुको नेतृत्व जर्मनका मोरिटजले गर्नु भएको छ । अन्तर्राष्ट्रिय स्तरका ७ जना विशेषज्ञ डाक्टरहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । ब्रेस्ट क्यान्सरका सन्र्दभमा जनचेतना जगाउने, आफै परीक्षण गर्ने विधि सिकाउने, शंका लागेमा तत्काल अस्पताल आउने र निराकरण गर्ने विषयमा समुदाय स्तरमा कसरी जनचेतना फैलाउने भन्ने विषयमा गोष्ठीमा छलफल भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले नेपालमा नसर्ने रोगहरुका कारण समुदायमा फैलँदै गएका समस्याहरुलाई निराकारण गर्न समुदाय स्तरको चेतना आवश्यक रहेको बताउनु भयो । ‘नसर्ने रोगका बिरामीहरूको संख्या दिन दिनै थपिँदै छ’– डा. पुरुषोत्तम सेढाईले भन्नुभयो– ‘क्यान्सर, मधुमेह, प्रेसर तथा अन्य नसर्ने रोगहरुको महामारी जस्तै छ । यसलाई समयमै नियन्त्रण गर्नु आवश्यक छ ।’ क्यान्सर हुनै नदिन, भए पछि पनि समयमै उपचार गर्दा निको हुने भएकाले समयमै उपचार गराउन तर्फ ध्यान दिनु पर्नेमा डा. सेढाईले जोड दिनु भयो ।

कार्यक्रमको उद्घाटन सत्रमा थाईल्याण्डमा रहनु भएका अस्पतालका संरक्षक डा.रामकण्ठ माकजुले भिडियो सन्देश मार्फत ब्रेस्ट क्यान्सर रोक्न जनचेतना फैलाउनु पर्ने बताउनु भयो । क्यान्सर रोग समयमै पहिचान गरेर उपचार गर्दा निको हुने भएकाले नडराईकन र नआत्तिईकन अस्पताल जानु पर्ने उहाँले बताउनु भयो । काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्रो.डा राजेन्द्र कोँजु, अस्पतालका प्रमुख प्रशासकीय प्रमुख तथा प्याथोलोजिस्ट प्रो.डा रमेश माकजु, स्त्री रोग विशेषज्ञ डा.सुमनराज ताम्राकार, डा. मोरिटज, स्वयम्भुराज शाक्य, डा.सुनिला शाक्य, डा. प्रतिज्ञा तिमल्सिना, नर्स सोना गौतम लगायतले क्यान्सरबाट नडराई अस्पताल आएर उपचार गराउँदा निको हुने भएकाले समयमै स्क्रिनिङ्ग गर्न र उपचार गर्न अनुरोध गर्नु भयो ।

विशेष गरी बढ्दो उमेर भएका महिलाहरुमा ब्रेस्ट क्यान्सर हुन सक्छ । परिवारमा कसैलाई स्तन वा डिम्बाशयको क्यान्सर भएमा, धेरै गोरा महिलालाई, स्तनको घनत्व धेरै भएमा, वंशाणुगत, सानो उमेरमा महिनावारी भए वा धेरै उमेरमा महिनावारी सुकेमा क्यान्सर हुन सक्छ । धेरै गर्भ निरोधक औषधि प्रयोग गरेमा, हर्माेन थेरापी धेरै लिएमा, ढिलो उमेरमा सन्तान जन्माउनु वा सन्तान नहुनुमा, अत्यधिक धूम्रपान र मादक पदार्थ सेवन गरेमा, धेरै मोटा महिला वा शारीरिक व्यायाम नगरेमा ब्रेस्ट क्यान्सर हुन सक्छ ।

रक्सी तथा सूर्तिजन्य पदार्थबाट टाढा रहने, स्तनपान गराउने, शरीरको तौल स्वास्थ्य लेबलमा राख्ने, योगा, कसरत र दैनिक शारीरिक व्यायाम गर्ने र पौष्टिक खानेकुरा खाने गरेमा तथा स्तन क्यान्सरलाई सुरूको अवस्थामा पहिचान गरी उपचार गरेमा बच्न सकिन्छ । स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिनु, स्तनको आकार र प्रकारमा परिवर्तन आउनु, स्तन दुख्नु वा सुन्निनु, स्तनमा खाल्टो पर्नु, स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु, शरीरको, अनावश्यक तौल घट्नु यसमा लक्षण हुन् ।

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै स्तन क्यान्सरलाई निर्मूल पार्ने अचुक अस्त्र भएको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्