अवैध लागूऔषधसहित ५ जना पक्राउ

0
Shares

काठमाडौं । काठमाडौं र धनकुटाबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका—१ गजुरी बजारस्थित सडकबाट लागूऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका ८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख २११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धनकुटाको आबुखैरेनी गाउँपालिका ४ बेनिटारस्थित मुग्लिङ पुलजिपबाट नियन्त्रित लागुऔषध डाईजेपाम १ सय १५ एम्पुल, फेनरागन १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थ नगरपालिका ६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका १ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका २ बैदी बस्ने २१ वर्षीय सुरज थापा रहेका छन् ।अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख १८२ नम्बरको बसलाई जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।