सल्यानमा सिकार खेल्न गएका किशोरको बन्दुक पड्केर मृत्यु

0
Shares

सल्यान । सल्यानमा सिकार खेल्न गएका एक किशोरको भरुवा बन्दुक पड्किदा मृत्यु भएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका-९ स्वाँराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको भरुवा बन्दुक पडकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्वाँराको बाहुनडाँडा जंगलमा सोमबार राति सिकार खेल्न गएको समयमा रावतको साथमा गएका अर्का एक जनाको भरुवा बन्दुक एक्कासी पड्किदा उनको मृत्यु भएको प्रहरी निरिक्षक सन्तोष खनालले बताउनुभयो ।

उहाँका अनुसार भरुवा बन्दुक पड्किदा रावतको पेट र घाँटीमा गोली लागेको थियो । गोली लागि घाइते भएका रावतको उपचारको लागि प्रदेश अस्पताल कारागाउँ सुर्खेत लैजाँदै गर्दा बनगाड कुपिन्डे नगरपालिका–७ वरघाट नजिकै मृत्यु भएको उहाँले बताउनुभयो ।

रावतको साथका गएका फरार रहेको र उनको खोजी कार्य भइरहेको खनालको भनाइ छ । मृत्तक चित्र बहादुरको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

स्थानीयले जानकारी गराएपछि अहिले घटनास्थलमा प्रहरी टोली पुगेर घटनाको अनुसन्धान भइरहेको, फरार रहेका र भरुवा बन्दुकको पनि खोजी भइरहेको उनको भनाइ छ । उनीहरु सोमबार बेलुकी शिकार खेल्न गएका थिए ।