संयोग र नविता च्याम्पियन

0
Shares

काठमाडौं । नेपाल प्रहरीका खेलाडीद्वय संयोग कपाली र नविता श्रेष्ठ १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा उपाधि जितेका छन् ।

खुलातर्फ पुरुष सिंगल्समा संयोग र महिला सिंगल्समा नवीता पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुष फाइनलमा संयोगले प्रहरीकै खेलाडी विनेश खनियाँलाई हराए । उनले सो खेल ११–९, ७–११, १५–१३, १३–११ र १४–१२ को सेटमा जितेका थिए । सो विधामा एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र गल्कोपाखा सेवा समाजका चन्दन शाही तेश्रो भए ।
यस्तै महिला फाइनलमा राष्ट्रिय च्याम्पियन नविताले सौभाग्य ज्वेलर्सकी रविना महर्जनलाई १–११, ११–३, ११–८, ११–४, ७–११ र ११–४ को सेटमा हराइन् । प्रहरीका मन्जु सुवाल र यशस्वी अवाल तेश्रो भए । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार जिते ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा प्रहरी पहिलो भयो । प्रहरीले फाइनलमा सौभाग्य ज्वेलर्सलाई ३–१ ले पाखा लगायो । प्राइम ग्लोबल र कान्तिपुर भ्याली पिङपोङ क्लब तेश्रो भए ।

‘टेबलटेनिस फर अल’ नाराका साथ भएको पाँचदिने प्रतियोगितामा विभिन्न ३४ स्पर्धामा ३ सय खेलाडीले सहभागिता जनाएको आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।