वीर गणेशमान बक्सिङ र रोड रेस हुने

0
Shares

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटिले आगामी चैत महिनामा रोड रेस र बक्सिंग प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कमिटिले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो । स्पोर्ट्स कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ र चौंथो संस्करणको १० के रोड रेस आयोजना गरिने जनाएको छ । स्पोर्टस कमिटिले चौंथो वीर गणेशमान सिंह १० के रोड रेस चैत ११ गते शनिबार आयोजना गरिने जनाएको छ । दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने रोड रेसमा महिला र पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ । महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउने छन् । चौंथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन् । त्यस्तै रोड रेसमा कीर्तिमान बनाउनेले १० हजार पाउने छन् ।

त्यसैगरी चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने जनाएको छ । बसन्तपुरमा आयोजना हुने बक्सिङमा महिला र पुरुषमा ६÷६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने छन् । पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ तौल समूह र महिलातर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिका एक उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीका १ सय ४० खेलाडीले सहभागिता जनाउने छन् ।