सिमरा गोल्डकप चैत ९ देखि

0
Shares

हेटौंडा । जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत ९ देखि आयोजना हुने भएको छ ।
सिमरा रंगशालाको फ्लडलाइटमा आयोजना हुने प्रतियोगिताबारे सोमबार आयोजक नवजनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा ५ ‘ए’ डिभिजन क्लब र ५ मोफसलका गरी १० टिमको सहभागिता रहनेछ । साविक विजेता न्युरोड टिम एनआरटी, एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बीएफसी चितवन, मकवानपुर–११ हेटौंडा, वागमती युवा क्लब सर्लाही, बीरगञ्ज युनाइटेड क्लब र आयोजकले प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगिता विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपिया“ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । विधागत्तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका कृष्णदत भट्ट र क्लब अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अघिल्लो संस्करणबाट मुख्य प्रायोजकका रुपमा आएको जगदम्बा स्टिलले यस वर्षका लागि सम्झौता नवीकरण गरेको हो । प्रतियोगिता व्यवस्थापनमा जितपुरसिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लब अध्यक्ष लामाले जानकारी दिए ।

चैत १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक क्लबले जनाएको छ । सूर्य नेपाल प्रालिको मुख्य सहयोगमा रंगशालामा फ्लडलाइटको क्षमता वृद्धि गरिएको क्लबले जनाएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्याराफिट तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले थप सहजता प्राप्त गर्नेछन् ।