बार्सिलोनाको जित

युभेन्ट्सको पूनरागमन जित

0
Shares

लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ ।

ब्राजिली फरवार्ड राफिन्हाको गोलमा बार्सिलोनाले घरेलु टोली एथ्लेटिको बिल्वाओमाथि १–० को झिनो गोलअन्तरको जित निकालेको हो । सान मेमेस बिल्वाओमा आइतबार राति भएको खेलको पहिलो हाफमै राफिन्हाले गरेको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बनेको हो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको प्रहारलाई बिल्वाओका गोलरक्षकले बचाए ।

खेलको ३२औं मिनेटमा इनाकी विलियम्सको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएका थिए । लगत्त ३३औं मिनेटमा बेरेनगुएरको कर्नरमा राहुल गार्सियाको डाइभिङ हेडर क्रसबारमा लागेर फर्कदा बिल्वाओ अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । राफिन्हाले यो सिजन ला लिगामा ६ गोलसँगै चार असिस्ट प्रदान गरिसकेका छन् । खेलको ७२औं मिनेटमा इनाकीको प्रहार पोस्टमा लाग्दै फर्कदा बिल्वाओ बराबरीबाट चुक्यो ।

खेलको ७९औं मिनेटमा मुनिएनको प्रहारमा पनि टेर स्टेगन बाधक बने । ८७औं मिनेटमा इनाकी विलियम्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बिल्वाओ बराबरीबाट चुक्यो । उक्त गोलको मुभमा मुनिएनले ह्यान्ड भएको भन्दै भिएआरले गोलको मान्यता नदिंदा बार्सिलोनाले जित निकाल्दै तीन अंक बटुल्न सफल भयो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इनाकीको प्रहारलाई गोललाइनबाट बचाए । रिवाउन्डमा गुरुजेटाको प्रहारमा टेर स्टेगन बाधक बने । यस जितसँगै बार्सिलोनाको २५ खेलबाट ६५ अंक पुगेको छ । पराजित बिल्वाओ ३३ अंक छ ।

युभेन्ट्सको पूनरागमन जित

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पूनरागमन जितको नतिजा निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा भएको खेलमा टोरिनोसँग दुईपटकसम्म पछि परेको स्थिति उल्ट्याएर ४–२ गोलअन्तरको रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भएको हो । युभेन्ट्सको पूनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटले गोल गरे । टोरिनोका यान कारामोह र एन्टोनियो सानाव्रियाले गोल गरेका थिए ।

एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट युभेन्ट्स खेलमा पछि परेको थियो । खेलको १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरी गोल फर्काएका थिए । खेलको ४३औं मिनेटमा र एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि प¥यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफ भने युभेन्ट्सको पक्षमा रह्यो । खेलको ७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाएका थिए । खेलको ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्द युभेन्ट्सको जित पक्का गरे । यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेको छ । पराजित टोरिनोको ३१ अंक छ ।