विकट मलास क्षेत्रमा विद्युत सेवा विस्तार गरिँदै

0
Shares

डडेल्धुरा । डडेल्धुरा र कञ्चनपुर जिल्लाको सिमावर्ती चुरे पर्वत श्रृंखलामा अवस्थित विकट मलास क्षेत्रमा विद्युत सेवा विस्तार गरिन थालिएको छ ।

नेपाल विद्युत प्राधिकरण डडेल्धुरा शाखाले नयाँ बर्षभित्रै मलास क्षेत्रमा विजुल बाल्नेगरि द्रुत गतिमा लाईन विस्तारको काम भइरहेको जनाएको छ । हाल मलास क्षेत्रमा विजुली पु¥याउन पोल गाडने र तार तान्ने काम भइरहेको मलास क्षेत्रका बासिन्दासमेत रहेका परशुराम नगरपालिका वडा नं. ७ का वडा सदस्य जयबहादुर धामीले बताउनु भयो ।

मलास क्षेत्रका काजीगडा, बस्न्यौटा, गुप्तीगडा, गजेलीगडा, खोरिया, धनाडी, पिपलकोट, ज्यामिरगडा, बतासे, दारुगाडे, तालीगडा, बड्डीमलास, भूमीथला, नौला, रैचेनी, कसान र गैरीखान लगायतका बस्तीहरुमा विद्युत सेवा विस्तार गर्न परशुराम नगरपालिका–७ बसेनीबाट लाइन विस्तारको काम भइरहेको हो ।

बसेनी गाउँसम्म हाल विद्युत सेवा सञ्चालनमा रहेको छ । वडा कार्यालयसम्म पुग्न झण्डै पाँच घण्टा पैदल हिडनु पर्ने र परशुराम नगरपालिकाको केन्द्र लालढुंगा बजार पुग्न पुरै एकदिन हिडनुपर्ने मलास क्षेत्रका बासिन्दाहरु गाँउमा विजुली पुग्ने भएपछि निकै हर्षित भएका छन । गाउँमा विजुली पुगेपछि कुटानी पिसानीका लागि मिल सञ्चालन गर्न सहज हुने र हाल मुहान भासिएर बेसी झरेका खोलाबाट लिप्ट गरेर खानेपानी आपुर्ती गर्ने योजना रहेको स्थानीय अगुवा बुद्धी धामीले बताउनु भयो ।

स्थानीयस्तरमा उत्पादित कृषि उपज बिक्री गर्न र दैनिक उपभोग्य समान ल्याउन कञ्चनपुरको महेन्द्रनगर बजार पुग्नु मलास क्षेत्रका बासिन्दाहरुको बाध्यता हो । गाउँमा मिलको अभावमा कुटानी पिसानी गर्न महेन्द्रनगर पुग्ने गरेको स्थानीय बताउछन । ‘विजुली पुगेमा गाउँमा उज्यालो मात्रै होइन, विकासका अन्य कामका लागि पनि सहज हुने आशा गरेका छौं,’ स्थानीय परमल धामीले भन्नुभयो,‘नयाँ बर्षभित्रै गैरीखानसम्म विजुली पु¥याउने र दशैंअगावै मलास क्षेत्रका सबै बस्तीमा विद्युत सेवा विस्तार गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ ।’

जिल्लाकै विकट बस्ती मानिने मलास क्षेत्रमा पछिल्लो समय कञ्चनपुर र डडेल्धुराबाट कच्ची सडक खनिएको छ । कच्ची सडकमा बर्षातमा यातायात सेवा ठप्प हुने भए पनि हिँउद याममा नियमित यातायात सेवा सञ्चालन भइरहेको परशुराम नगरपालिका–७ का वडाध्यक्ष कर्णबहादुर धामीले बताउनु भयो । ‘मलास क्षेत्र विस्तारै विकासको मुलप्रवाहतर्फ अघि बढ्न थालेको छ,’ वडाध्यक्ष धामीले भन्नुभयो, ‘विद्युत सेवा विस्तारसँगै हरेक बस्तीमा खानेपानी र सिचाँई सुविधा पु¥याउन पहल गरिने छ ।’