प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ

0
Shares

वीरगञ्ज । धनुषा जिल्लाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–७ का ३६ वर्षीय शंकर महतो छन् । उनलाई शनिबार राति पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो ।

गत माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका–२ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राति ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए ।

जसमध्ये चार जनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो । घटना पश्चात् जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालयले संयुक्त प्रहरी टोली परिचालन गरी व्यापक सर्च अपरेशन चलाएको थियो ।

खोजतलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका–६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते शान्ति सुरक्षाविरुद्धको मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २५ वर्षीय हरिदीप सिंह र २५ वर्षीय अमित मण्डललाई पक्राउ गरेको थियो ।

यसैगरी लागूऔषध मुद्दाका अभियुक्त १८ गते राति क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोद कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । एकजना थुनुवा भने अझै फरार छन् ।