क्रिकेटर बोहरा बैतडीमा सम्मानित



बैतडी । नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटर दीपक बोहरालाई गृहजिल्लामा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो ।

उक्त नेपाली टोलीका सदस्य बोहरा पनि रहेका थिए । उक्त छनौट प्रतियोगितामा सहभागी भएर पहिलोपटक गृहजिल्ला बैतडी पुगेका उनलाई सम्मान गरिएको हो । बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब,देहिमाडौंले सम्मान गरेको हो । उनी उक्त एकेडेमी तथा क्लबमा आवद्ध रहेका छन् ।

बैतडीजस्तो विकट क्षेत्रबाट राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै विश्वकपमा पुर्याउन योगदान गरेको भन्दै सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । दीपकलाई खादा,अविर र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बैतडी जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष रमेशबहादुर बोहरा, निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डीलाईट बोहरा, निंग्लाशैनी मन्दिरका भण्डारी चक्रबहादुर बोहरालगायतको उपस्थिती रहेको थियो ।

युएईमा बोहराले ३ खेल खेलेका थिए । पहिलो खेलमा सिंगापुरविरुद्ध १७, दोस्रोमा कुवेतविरुद्ध १९ रन र तेस्रोमा हङकङसंगको खेलमा ब्याटिंगमा पालो पुगेको थिएन् । पोलार्ड उपनामले समेत परिचित १८ वर्षीय बोहराको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा जन्मिएका थिए । सानैदेखि क्रिकेटमा रुची राख्ने बोहरा धुले मैदानबाट क्रिकेट खेल्न शुरु गरेका थिए ।

वि स २०६१ पुस ११ गते जन्मिएका बोहरा मध्यक्रमका ब्याटर हुन् । उनी ठुला सट हिर्काउन रुचाउछन् । नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैँयाको पुरस्कार दिने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्