नेपालको ओडीआई मान्यता थप ४ वर्षको लागि पक्का

नेपालको मेहनत

0
Shares

काठमाडौं । पछिल्ला तीन सिरिजमा नेपाली क्रिकेट टोलीले शानदार खेल प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षको लागि पक्का गरेको छ ।

त्रिविमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत यूनाइटेड अरब इमिरेट्स्विरुद्ध नेपालले जित हात पारेसँगै ओडीआई मान्यता जोगिएको हो । नेपालले अरब इमिरेट्सलाई १ सय ७७ रनले पराजित गरेको हो । यो जितसँगै नेपाल अंकतालिकाको चौथो स्थानमा उक्लियो । साथै चौथो स्थानमा रहेको अमेरिका पाँचौ स्थानमा चिप्लिएको छ ।

अंकतालिकामा नेपालको ३४ खेलबाट ३६ अंक जोडेको छ । नेपालले १७ खेलमा जित हात पारेको छ भने १५ खेलमा हार बेहोरेको छ । अमेरिका ३५ अंकसहित नेपालभन्दा पछाडि परेको छ । नेपालले अव दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेको खण्डमा नेपालले शीर्ष तीनमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सिधै खेल्न पाउनेछ ।

तर, दुई मध्य एक खेल हारेको खण्डमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक रहेको छ । नामिबियाले ९ चरण सबै खेलिसकेको छ । यता अरब इमिरेट्सले भने सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ ।

टोलीको ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । युएईले बाँकी दुवै खेल जितेपनि शीर्ष पाँचमा पर्न सक्दैन । त्यसैले सोझै ओडिआई मान्यताको अवसर गुमाएको हो । युएईले अव ओडिआई मान्यता प्राप्त गर्न प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।

यो प्रतियोगितामा स्कटल्यान्ड च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले पुरै ३६ खेलमा ५० अंक जोडेको छ । च्यामिम्पयन भएसँगै यो युरोपेली टोली विश्वकप छनोटमा पुगि सकेको छ । दोस्रो स्थानमा रहेको ओमान पनि ३६ खेलमा ४४ अंकका साथ जोड्दै सोझै विश्वकप छनोटमा पुगिसक्यो । अव नेपाल र नामिबिया मध्य एक टोलीले सोझै विश्वकप छनोटमा खेल्नेछ ।

अरब इमिरेट्स, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ खेल्ने पक्का भई सकेको छ । लिग २ का चार टोलीसँगै जर्सी र क्यानडा प्लेअफमा हुनेछन् । जसबाट शीर्ष दुई टोली विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

नेपालको मेहनत

क्रिकेट विश्वकप लिग २ का बाँकी तीन सिरिज खेल्न अघि नेपालको अंक १८ अंक थियो । नेपालको लागि निकै ठूलो चुनौती थियो । सन्दीप लामिछाने बलात्कारको आरोपमा जेलमा थिए । उनको अनुपस्थितमा नेपाली बलिङ कमजोर आँकिएको थियो । तर, सन्दीप जेलबाट धरौतीमा छुटेसँगैं नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टोलीमा सहभागि गरायो । यो निर्णयमा क्यानको विरोध पनि भएको थियो ।

अमेरिकाको ३५ अंक भएको हुँदा नेपालले ओडीआई मान्यता जोगाउन १२ खेलमध्ये ९ खेलमा जित्नु पर्ने ठूलो चुनौती थियो । त्रिवि मैदानमा स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज शुरु भयो । नेपालले शानदार प्रदर्शन गर्दै चारै वटा खेल जित्यो र पुरा ८ अंक बटुल्यो । प्रतियोगिताको सिरिजअन्तर्गत यो नेपालको एक सिरिजमा चारैवटा खेल जितेको पहिलो पटक पनि हो ।

यसपछि नेपालले देशबाहिर दुबई मैदानमा अरब इमिरेट्स र पपुवा न्युगिनीसँग प्रतियोगिताको आठौ सिरिज खेल्यो । यसमा नेपालले तीन खेल जित्यो र ३२ अंक पु¥यायो । यहाँ नेपालले अरब इमिरेट्सलाई १ अंकले पछि पा¥यो । नेपालले पपुवा न्युगिनीलाई पनि धन्यवाद दिनुपर्छ । किनभने पुछारमा रहेको पपुवा न्युगिनीले अरब इमिरेट्सलाई दुबै खेलमा हराएको थियो ।

अरब इमिरेट्सको हार नेपाललाई फाइदै भयो । अहिले जारी सिरिजमा नेपालले दुई खेलमा जित हासिल गरेको हो । योसँगै नेपालले खेलेको १० मध्ये ९ खेलमा जित हासिल गरेको छ । तर, पपुवा न्युगिनीले सहज गरेपनि नेपाली खेलाडीले निकै मेहनतका साथ खेलेका छन् । नेपाली खेलाडीले अन्तिमसम्म संघर्ष गरेर जित हासिल गरेका छन् । यसको श्रेय नेपाली खेलाडीलाई नै जान्छ ।