वर्तमान सरकारमा म सहभागी हुन्नँ : गगन थापा

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ । आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीबाट जाने मन्त्री र सरकारलाई सफल बनाउन लाग्ने तर आफैं मन्त्री भने नहुने बताउनुभएको हो ।

आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताउनुभयो । सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने समेत थापाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘म अहिले सरकारमा मन्त्री बन्ने भन्ने सोचेकै छैन र जान्नँ पनि । तर, आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्री र आफ्नो दल सहभागी सरकारलाई कसरी सफल बनाउने भन्ने मेरो ध्येय हुनेछ ।’

उहाँले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘सरकार कति दिन टिक्यो भन्ने आधार र उसको कामको आधारमा सरकारको सफलताको मापन हुन्छ र त्यसै गरी हेरिनुपर्छ ।’

सरकारले परिणाम दिन सकेन भने ५ वर्षको समय खेर जाने उहाँको भनाइ छ । महामन्त्री थापाले राजनीतिक दलहरू खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

नेपालमा पूर्वप्रधानमन्त्रीहरूको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहिरहेको टिप्पणी गर्दै सरकारले नागरिकलाई सेवासुविधाहरू दिन सक्नुपर्नेमा जोड दिँदै थापाले भन्नुभयो– ‘प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्छ’। महामन्त्री थापाले अहिलेको सरकारलाई नागरिकले काम गर्नका लागि ४्/५ महिनाको समय मात्रै दिने भन्दै अर्थतन्त्र सुधारका लागि सरकारले समयको अभावलाई ख्याल गरेर काम अघि बढाउनुपर्ने बताउनुभयो । अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदै छ भन्ने अनुभूति गराउन नसके गठबन्धन जति ठूलो भए पनि केही अर्थ नरहने टिप्पणी गर्नुभयो ।’