उपराष्ट्रपतिका उम्मेदवार यादवले बुझाए आफू विरुद्धको उजुरीमाथिको प्रष्टिकरण

0
Shares

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूविरुद्ध परेको उजुरीमाथिको प्रष्टिकरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेका छन् । आज (आइतबार) बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमै पुगेर यादवले उम्मेदवारी विरुद्धको उजुरीको जवाफ पेस गरेका हुन् ।

हिजो (शनिबार) उम्मेदवारी दर्ता गरेलगत्तै एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरीत भएको भन्दै दावी विरोध पेश गरेकी थिइन् ।

सोही दाबी विरोधमाथि जवाफ पेश गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गरेका हुन् ।