राष्ट्रपतिको गरिमा भूमिकामा निर्भर हुने



राष्ट्रपति गणतान्त्रिक राज्यव्यवस्थाको प्रतीक हो । मुलुकले भर्खरै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाएको छ । राष्ट्रपतिको भूमिका, जीवनशैली, विचारले गणतन्त्र बलियो बनाउने वा कमजोर बनाउने भन्ने कुरा निर्धारण गर्दछ । मुलुकको लोकतान्त्रिक संघर्षको इतिहासमा समर्पित व्यक्ति राष्ट्रपतिको रूपमा पाउनु निकै खुशीको विषय हो । राष्ट्रपतिको भूमिकाको विषयलाई लिएर विगतमा बेलाबखत हुने गरेको विवाद र बहस अब दोहोरिने छैनन् अहिले सबैले यही आशा गरेका छन् । संविधानले नै ‘संरक्षक’ को भूमिकामा राखेको राष्ट्रपति संस्था विवादमा तानिनु भने शोभनीय हुँदैन । तर, उक्त पदमा रहेकाले निर्वाह गर्ने भूमिकाका आधारमा यस प्रकारको विवाद र बहस बेलाबेलामा हुने गरेको स्थितिलाई दोहोरिन नदिनु अबको राष्ट्रपतिको मुख्य चुनौती रहेको छ ।

अहिलेको राष्ट्रपति दल विशेषको घेराभन्दा माथि उठेर संविधानको संरक्षण, देश र जनताको बृहत्तर हितको लागि अभिभावकीय भूमिका निर्वाह गर्न सक्छन् वा सक्दैनन् भन्ने मुख्य सवालको रूपमा उठेको छ । हुनत संविधानको धारा ६१ को उपधारा (२) मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र निजले यस संविधान र संघीय कानुनबमोजिम कार्य सम्पादन गर्ने उल्लेख गरिएको छ । सोही धाराको उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने भनिएको छ । सोही धाराको उपधारा (४) मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने भनिएको छ । संविधानमा यस्तो उल्लेख गरिए तापनि विगतमा दुई जना नै राष्ट्रपतिले निर्वाह गरेको भूमिकाका कारण विवादमा तानिएको पृष्ठभूमिमा यस्तो सवाल उठ्ने गरेको हो । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको कार्यकालमा विवादित बनेको प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणमा उहाँले प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन नगरी आफ्नो पार्टी नेपाली कांग्रेसको लाइनअनुसार कदम चल्नुभयो । यस्तै, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि दुईपटक गरेको सिफारिस सदर गर्नुभयो । पछि त्यसलाई सर्वोच्च अदालतले बदर गरिदियो । आफू पूर्ववत आबद्ध रहेको दलको प्रभावबाट निर्देशित भएर राष्ट्रपतिले निर्णय गरेको भन्दै विवाद सतहमा आएको थियो । यसले राष्ट्रपति पदको गरिमा निसन्देह घटाएको थियो ।

राष्ट्रपतिको गरिमा कस्तो बनाउने, यो जिम्मेवारीमा रहेर आलोचित भए पनि दलको स्वार्थ पूरा गर्ने या सबैको साझा अभिभावकका रूपमा आफूलाई स्थापित गराउने भन्ने विषय सोही पदमा रहनेले नै निर्धारण गर्ने हो । तर, यतिबेला तत्कालका लागि दल विशेषको प्रभावबाट आफूलाई मुक्त तुल्याएर सबैको अभिभावकका रूपमा स्थापित गराउनु नवनिर्वाचित राष्ट्रपति पौडेलका लागि चुनौतीको विषय मानिएको छ । संविधानको पालना र संरक्षणका लागि यो चुनौतीमा वर्तमान राष्ट्रपति खरो उत्रिनु आवश्यक रहेको छ । त्यस्तै, राष्ट्रपतिकोे जीवनशैली साधारण बन्नुपर्ने आवश्यकता देखिन्छ । शीतल निवासबाट राष्ट्रपति बाहिर निस्किँदा पनि लावालस्करका साथ निस्किएर सडक अवरुद्ध गर्ने कार्यलाई अन्त्य गर्नुपर्ने आवश्यकता रहेको छ । विगतमा यस विषयलाई लिएर सर्वसाधारणले निकै असन्तुष्टि पोखेका थिए ।

राष्ट्रपति पद व्यक्ति नभई संस्था हो । नेपालजस्तो विविध भाषाभाषी, धर्मावलम्बी, जातजाति, संस्कृति रहेको मुलुकमा राष्ट्रपति सबैकोे साझा र एकताको प्रतीक बन्नुपर्दछ । कुनै जात, धर्म विशेषको प्रतिनिधित्व नगरी सबैले राष्ट्रपतिलाई आफ्नो ठान्न सक्ने भूमिका निर्वाह गरेर देखाउनु नवनिर्वाचित राष्ट्रपतिका लागि ठूलो चुनौतीको विषय हो । यी चुनौतीहरूबाट उठ्न सकेमात्र राष्ट्रपति संस्थाको गरिमा र ओज बढ्ने छ । अबको राष्ट्रपतिले व्यक्ति हाबी हुनेभन्दा संस्था गरिमाअनुसार भूमिका निर्वाह गर्नुपर्दछ । यसका लागि राष्ट्रपतिको संवैधानिक अधिकारभन्दा यताउति नगरेर कार्यसम्पादन गर्न कुनै कसर बाँकी राख्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्