नेपालमा आशालाग्दो स्ट्रेन्थलिफ्टिंग



काठमाडौँ ।

नेपालमा केही समययता शक्तितोलन अर्थात् स्ट्रेन्थलिफ्टिंग खेलको प्रतियोगिताहरू एकपछि अर्को गरी हुन थालेका छन् । नेपाल स्ट्रेन्थलिफ्टिंग फेडरेसनले आगामी मार्च १० देखि १३ सम्म नेपालसहित सात राष्ट्र सम्मिलित इन्टरनेशनल स्ट्रेन्थलिफ्टिंग एण्ड इन्कलाईन्ड बेन्च प्रेस च्याम्पियनसिप २०२३ मा प्रतियोगिता आयोजना गर्न लागेको छ । ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रीय खेलकुद परिसरमा हुन लागेको यो प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भूटान र किर्गिस्तान गरी सात राष्ट्रका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

आम्दानीको कुनै ठोस् स्रोत नभएपनि यस खेलसँग सम्बन्धित ब्यक्ति, रेफ्री, जज तथा आफ्नै ब्यक्तिगत खर्चमा प्रतियोगिता आयोजना गर्न लागेको नेपाल स्ट्रेन्थलिफ्टिंग फेडरेसनका महासचिव जीवन गिरी बताउनुहुन्छ । वल्र्ड पावरलिफ्टिंग फेडरेसनले (डब्लूपिएफ) भने मेडल र ट्रफी सहयोग गर्दैछ,–“गिरीले भने,–“करिब ९० जना नेपाली खेलाडीले यो प्रतियोगितामा प्रस्तिस्पर्धा गर्दैछ । केही समयअघि छनोट प्रतियोगिता गरिएको थियो । नेपालमा हुन लागेको यो प्रतियोगिता यस खेलको पहिलो अन्तराष्ट्रीय प्रतियोगिता हो । भविष्यमा एसियन र विश्वस्तरको प्रतियोगिता आयोजना गर्ने योजना रहेको छ ।“ वल्र्ड स्ट्रेन्थलिफ्टिंग फेडरेसनका एक्जुकेटीभ सदस्य समेत रहेका गिरीले यस खेलमा सहभागी हुने खेलाडीको सम्पूर्ण खर्च सम्बन्धित देशको फेडरेसन तथा खेलाडी स्वंयले नै बेहोर्ने शर्तमा नेपाल आउन लागेको बताए ।

प्रतियोगितामा बिभिन्न सातवटा इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ । जसमध्ये सिनियर मेन्सतर्फ ५२, ६०, ६८, ७६, ८५, ९५, १०५, ११५, तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, सिनियर वोमेन्सतर्फ ५२, ५८, ६५, ७२ केजी तौल समूहको खेल हुनेछ । मास्टर–१ र मास्टर–२ इभेन्ट्समा ६८, ७६, ८५ केजी तौल समूहको प्रतिस्पर्धा हुनेछ । त्यस्तै, मास्टर–३ इभेन्ट्समा ६८ र ८५ तथा मास्टर वोमेन्सतर्फ ६५ केजी तौलको खेल हुनेछ । त्यस्तै शारीरिक रुपमा दुरुस्त नभएकाहरुले पनि प्रतिस्पर्धा गर्न पाउनेछन । सिनियर फिजिकली च्यालेण्ड मेन आईबीपी इभेन्ट्सतर्फ ६५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
नेपालमा स्ट्रेन्थलिफ्टिंगको छोटो इतिहास

नेपालमा स्ट्रेन्थलिफ्टिंग खेल धेरै जनाले नसुनेको हुनसक्छ । स्ट्रेन्थलिफ्टिंग खेल १९८५ बाट खेल्न थालिएको हो । तर, नेपालमा भने यो खेल भित्रिएको धेरै समय भएको छैन । सन् २०२१ देखि यो खेल नेपालमा खेल्न थालिएको हो । स्ट्रेन्थ लिपिÞm्टंग खेलमा भार बहन गर्दा शरीरको ढाडतिरबाट तौलसहितको फलामको बारलाई दुवै हत्केला विपरीत दिशामा फर्काएर हिपसम्म उचाल्ने गरिन्छ । यसो गर्दा शरीर भने सिधा अवस्थामा हुनुपर्दछ । स्ट्रेन्थ लिफ्टिंगमा बाइसेप कर्ल र ह्याक लिफ्टिंग मुख्य स्पर्धा हो । जसमा उचालेका तौल ओभरअलमा जोडिन्छ । यो बाहेक इन्कलाईन्ड बेन्च प्रेसको प्रतिस्पर्धा पनि हुन्छ । जुन यसमा थप गरिएको भिन्न विधा हो । धर्मश्रीको च्याम्पियन समेत रहिसकेका गिरीले यो खेलको जन्म छिमेकी राष्ट्र भारतमा साढे तीन दशक अघि भएपनि नेपालमा भने गत वर्षमात्र आफूले भित्र्याएको बताउनुहुन्छ ।

उनले केही वर्षअघि कलकत्तामा भएको यस खेलको प्रतियोगितामा सहभागी भएपछि नेपालमा पनि यो खेल भित्राउने सोच बनाएका थिए । सन् २०२० मा एसियन पावरलिफ्टिंग फेडरेसनका समेत उपाध्यक्ष रहिसकेका गिरीले नेपालमा यो खेल विकास गर्न पनि ठूलो योगदान गर्नुभएको छ । यो खेल भित्रिएयता नेपालले अन्तराष्ट्रीय प्रतियोगितामार्फत पनि पदकहरु जितिसकेका छन् । छोटो अवधिमा नै नेपालले वल्र्ड च्याम्पियनशिपमा तीन वटा पदक जितेको छ । त्यस्तै, गत वर्ष सिक्किममा भएको प्रतियोगितामा पनि नेपालले ३२ वटा पदक आफ्नो पोल्टामा पारेको थियो । गत कार्तिकमा पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पनि यो खेल प्रदर्शनी खेलको रुपमा राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्