एसी मिलान र बायर्न क्वाटरफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी) । इटालियन सिरि ए क्लब एसी मिलान र जर्मन बुन्देसलिगा क्लब बायर्न म्यूनिख यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इटालियन क्लब एसी मिलान भने ११ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । इंग्लिस प्रतिद्धन्द्धी टोटेनहम हटस्परसँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० गोलअन्तरको जितसँगै मिलान सन् २०११–१२ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । मिलानले पहिलो लेगमा १–० को जित निकालेको थियो । त्यही जित नै मिलानलाई अन्तिम आठमा पुग्न पर्याप्त रह्यो ।

टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवरि सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो । खेलको ७७औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिन पुगेको थियो । क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहमको खेलमा फर्कने सम्भावना टाढिएको थियो । सन् २०११–१२ को सिजनमा मिलान क्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनासँग समग्रमा ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।

त्यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई २–० ले नतिजा सुम्पिदा समग्रमा ३–० ले पराजित हुँदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा भएको दोस्रो लेगमा घरेलु टोलीको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाब बढाएपनि पिएसजीले गोल बेहोर्न पुगेको थियो । ६१औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाएका थिए । उनले लियोन गोरेट्जकाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८९औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको २–० को जित पक्का गर्दै टोलीलाई क्वाटरफाइनलको यात्रा तय गराए । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए । च्याम्पियन्स लिगमा यो समेत पिएसजी पछिल्लो सातमध्ये ५ पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।