काठमाडौं । गत संस्करणको शहिद स्मारक ए डिभिजन लिगमा विजेता बनेको मछिन्द्र क्लबले यस सिजनको लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।
बिहीबार भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले मछिन्द्रलाई २–० ले पराजित गरेको हो । यसअघि मछिन्द्र जावलाखेल युथ क्लबसँग हारेको थियो । जावलाखेलले मछिन्द्रको लगातार २० खेलको अपराजित यात्रामा पूर्ण विराम लगाइदिएको थियो । आर्मीको भने यो दुई खेलमा पहिलो जित थियो । यसअघिको खेलमा आर्मी संकटासँग २–२ बराबरीमा रोकिएको थियो ।
ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा आर्मीका लागि दीपक गुरुङ र कप्तान नवयुग श्रेष्ठले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफ शुरु भए लगतै आर्मीले अग्रता लियो । आर्मीका लागि ४८ औं मिनेटमा दीपकले गोल गरे । यसपछि ५९ औं मिनेटमा नवयुगले टोलीको अग्रता दोब्बर पारेका थिए । यस जितसँगै आर्मीको दुई खेलबाट ४ अंक पुगेको छ । मछिन्द्रले भने दुई खेल्दा पनि अंक जोड्न सकेन ।
जावलाखेलको लगातार दोस्रो जित
जारी लिगमा जावलाखेलले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा च्याम्पियन मछिन्द्रलाई हराएको जावलाखेलले दोस्रो खेलमा एनआरटीलाई २–१ ले हरायो । विजेता टोलीका लागि कप्तान सिमान्त थापाले ६८औं र फोडे फोफानाले ७७औं मिनेटमा गोल गरे ।
न्युरोडको टोलीको यो लगातार दोस्रो हार थियो । एनआरटीका लागि सन्जिव विष्टले ८०औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन । पहिलो खेलमा सातदोबाटोसँग उही नतिजामा पराजित भएको एनआरटी लगातार दोस्रो हारपछि अंक बिहीन छ ।











प्रतिक्रिया