राष्ट्रपति निर्वाचनले वागमतीमा हलचल



हेटौंडा । बिहीबार देशले नया“ राष्ट्रपति पाएपछि त्यसको सोझो प्रभाव मुलुकको ठूलो प्रादेशिक संसद् वागमतीमा पर्ने देखिएको छ ।

१० राजनीतिक दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएस“गै अब प्रदेशको सत्ता समीकरण परिवर्तन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)स“गको सहकार्यमा पा“च दलीय गठबन्धन बनाएर प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई महिनामै नया“ गठबन्धन टुटाएर पुरानै आठ दलीय गठबन्धन ब्युताउ“दा वागमतीको राजनीतिक अवस्था परिवर्तनको संघारमा आएको हो ।

केन्द्रमा सरकारबाट बाहिरिसकेको अवस्थामा प्रदेशमा भने राष्ट्रपति निर्वाचनसम्म ‘पर्ख र हेर’ को भरमा सरकार नछाडेको एमालेले अब के गर्ला भन्ने चासोको विषय बनेको छ । राष्ट्रपति निर्वाचनको निर्वाचन परिणामपछि पनि एमालेले आफ्नो मौनता तोडेको छैन ।

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनले वागमतीमा एमालेका ४ मन्त्रीको भविष्य निर्धारण गर्नेछ । राप्रपा, एमाले र माओवादी मिलेर सरकार गठन हु“दा एमालेको भागमा ४ मन्त्रालय र उपसभामुखको भाग परेको थियो । एमालेकी अप्सरा चापागाईं उपसभामुखको जिम्मेवारीमा हुनुहुन्छ ।

एमालेका एकलाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री हुनुहुन्छ ।

एमालेले केन्द्र सरकारबाट फागुन १५ गते राजीनामा दिए पनि प्रदेशको हकमा भने राष्ट्रपति निर्वाचनसम्म कुर्न निर्देशन आएकाले रोकिएका एमालेका मन्त्रीहरूले निरन्तरता पाउलान् कि सरकारबाट बाहिरिएलान्, त्यो अबको केही दिनभित्र टुंगो लाग्ने छ ।

८ दलीय गठबन्धन ब्यु“तिएको अवस्थामा एमाले प्रदेश सरकारमा टिकिरहला भन्ने देखिँदैन । गठबन्धन टुटेस“गै एक्लिएको एमाले वागमती प्रदेश सरकारमा अटाउन मुस्किल देखिन्छ । संविधानसभा सदस्य अनन्त पौडेल एमालेलाई सरकार छाडेर बलियो प्रतिपक्षमा बस्न सुझाउनुहुन्छ । उहाँले भन्नुभयो – ‘निकालिनुभन्दा आफैं आफ्ना कुरा राखेर सरकार छाड्नुपर्छ ।’

यसको फाइदा कांग्रेसले उठाउने देखिएको छ । माओवादीका शालिकराम जम्कट्टेल एमाले–राप्रपास“गको गठबन्धनबाट मुख्यमन्त्री बनेको र पुरानो गठबन्धन ब्यु“तिएकाले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गरिनुपर्नेमा कांग्रेस नेताहरूको जोड छ ।

कांग्रेस वागमती प्रदेशका मुख्य सचेतक कुन्दनराज काफ्लेले जम्कट्टेललाई नै समर्थन गर्नुपर्ने कारण नरहेको र कांग्रेसकै नेतृत्वमा मन्त्रिपरिषद् गठन हुने दाबी गर्दै भन्नुभयो– ‘एमाले र राप्रपाले बनाएको मुख्यमन्त्रीलाई हामीले समर्थन गर्नुपर्ने भन्ने छैन । हामी प्रदेशसभाको सबभन्दा ठूलो दल हौं । उहाँले अब मुख्यमन्त्रीको भाग कांग्रेसले पाउनुपर्ने भन्दै वर्तमान मुख्यमन्त्रीलाई कांग्रेसले कुनै हालतमा समर्थन गर्दैन ।’

वागमतीमा नया“ सरकार बिस्तार गर्नुपरे कांग्रेस र माओवादी मिल्दा पनि सरकार बन्ने अंक गणित छ । सबभन्दा ठूलो दल कांग्रेसको ३७ र माओवादीको २१ सिटले ५८ हुन आउ“छ । सरकार गठनका लागि ५६ सांसद्को समर्थन आवश्यक पर्छ । आठदलीय गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को समेत वागमतीमा नेतृत्व छ । एकीकृत समाजवादीको ७ सिट पनि मिल्दा ६५ हुन आउ“छ, जुन पर्याप्त हो ।

सरकारबाट राप्रपा बाहिरिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले पनि बाहिरिए मन्त्रीमण्डल पुनः विस्तार हुनुपर्ने माग राख्दै आएको कांग्रेस चुप बस्ने स्थितिमा छैन ।

१ सय १० सदस्यीय वागमती प्रदेशसभामा एमालेको २७ सिट छ । माओवादीको २१, राप्रपाको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

पुस १४ गते सांसद्हरूले पद तथा गोपनीयताको शपथ खाएपछि पुस २५ गते माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्रीका दाबेदार एमालेका नेता थपलिया अर्थमन्त्री र राप्रपा नेता उद्धव थापाले बिनाविभागीय मन्त्रीमा चित्त बुझाउनुभएको थियो ।

भागबण्डामा अल्झिनुभएका मुख्यमन्त्री जम्कट्टेलले माघ ११ गते मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्मा त्यतिबेला पहिरो गयो । केन्द्रमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लि“दै सरकारबाट बाहिरियो । केन्द्र सरकारबाट बाहिरिएकै दिन वागमतीमा राप्रपाका ३ मन्त्रीले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउनुभयो । मन्त्रिपरिषद्ले पूर्णता पाएको ४९ दिनमै वागमती प्रदेश सरकार अल्पमतमा परेको थियाे ।

प्रतिक्रिया दिनुहोस्