पूर्वेली लोक गायकहरूको बढ्दो पलायन, कलाकारप्रति राज्य उदासीन 

42
Shares

ओखलढुंगा । आजभन्दा करिब १८ वर्ष वर्ष पहिले ‘सुपारी जाईको माला’ बोलको पूर्वेली लोकभाका जनजनको मनमा बसेको थियो । खास गरि पूर्वी नेपालको खोटाङ, ओखलढुंगा, भोजपुर र रामेछापबासीले निकै रुचाएको लोकभाका हो । त्यस ताका यो गीतले ख्याति कमायो । सुपारी जाईको माला अहिले पनि नगुनगुनाउने कमै हुन्थे ।

सरल र सुलोलित लयमा सजिएको यो गीत ओखलढुंगा र आसपासका क्षेत्रमा गाइने रैथाने भाका पनि हो । यो भाका पूर्वेली लोक सांगीतिक क्षेत्रका ख्याती प्राप्त कलाकार अभय ढुंगेलको लय र आवाजमा रेकर्ड भएको थियो ।

ओखलढुंगाको लिखु किनारको पोकलीमा जन्मिएका हुन्, अभय । उच्च शिक्षा हासिल गर्न २०५३ सालमा काठमाडौं छिरेका अभयले भेट भो यो साल वोलको गित रेर्कड गरेर आफ्नो सांगीतिक यात्राको थालनी गरेका थिए ।

अभयको पहिलो व्यवसायिक एल्वम पूर्वेली कान्छो बजारमा २०५८ मा ल्याएका थिए । जस्मा हिउँचुलिको हिउँको पानी जस्ता उत्कृष्ट पूर्वेली गीत समेटिएका थिए । यिनै बहुचर्चित गीतका सर्जक अभय हाल नेपाल छाडेर अमेरिकाकामा परिवारसहित बसोवास गरिरहेका छन् ।

नेपाल छाडेर परदेशिनु आफनु रहर नभएर बाध्यता रहेको बताउने गायक ढुंगेल राज्याले नीति निर्माण गरेर स्वादेशमै फर्काउन पहल नगरे प्रायः कलाकार आफ्नो पारिवारिक भविष्यका लागी विदेशीने क्रम नरोकिने बताउँछन् ।

अभयले आफूलाई मात्रै संगीतको दुनियाँमा प्रवेश गराएनन् । उनको संगतले पूरै परिवार संगीत क्षेत्रमा होमिएको देखिन्छ । ढुंगेल परिवारकै अर्का चर्चित गायक हुन्, राजु ढुंगेल । राजु अभयको ठूलो बुबाका छोरा हुन् । उनले अकबरे सुनलाई के लाउनुर कसी, जोर मादल बज्यो र जन्म घर जस्ता चर्चित पूर्वेली भाकामा आफ्नो आवाज भरेका छन् । उनी चर्चित गायक मात्रै नभएर कुशल वाद्यवाधक पनि हुन् ।  बहुप्रतिभाका धनी राजु ढुंगेलले पनि अमेरिकालाई नै आफ्नो भविष्यको रोजाइमा पारे ।

गायकद्वय अभय र राजुका अभिभाबक पूर्वेली संगीतका गहना हुन् । ढुंगेल परिवारका अर्का गायक नवीन ढुंगेल । सांगीतिक क्षेत्रका एक मुर्धन्य ब्यक्ती हुन्, नविन ढुंगेल । उनले २०३८ सालमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा काँचो कटर होनिर जाले म जान्छु राँङखोला, रोक मोटर गीत गाएर संगीतको यात्रा आरम्भ गरेका थिए । काँचो कटर होनिर जाले, म जान्छु राँङखोला, रोक मोटर,पानी, कुवैको घरवार छैन हो लै–लै हामी दुवैको, गाईलाई पारी वन, साइकल सरसर यो मायालाई सम्झदा मनै हरहर, घर त पोखरा र घर हाम्रो पूर्वैतिर हो जस्ता कालजयी गीत ढुंगेलको आवाजमा रेकर्ड भएका चर्चित गीत हुन् ।

गायक नवीन ढुंगेल, अभय ढुंगेलका बुबा हुन् भने राजु ढुंगेलका काका हुन् । एकै परिवारका ढुंगेल परिवारले धेरै गीत अपासी सहकार्यमा बजारमा ल्याएका छन् । मनपर्ने एउटा साली छ बोलको गीत छोरा अभय ढुंगेलले लेखेका हुन । बुबा नवीन ढुंगेल र रेखा शाहले आवाज भरेका छन् ।

यसै गरि अकबरे सुनलाई बोलको गीतमा आवाज राजु ढुंगेल र नवीन ढुंगेलले भरेका छन् भने शब्द संकलन अभय ढुंगेलको गरेका हुन् । २०५८÷०५९ साल तिर निक्कै चर्चामा रहेको पूर्वेली लोकगीत हिउँचुलीको हिउँको पानीमाको शब्द संकलक अभय ढुंगेल हुन् । यो गीतमा नवीन ढुंगेल, अभय ढुंगेल र राजु ढुंगेलको आवाज भरेका छन् ।

यसरी सहकार्यमार्फत एकै परिवारले लोक संगीतमा योगदान पुर्याएका छन् । यसरी कालजयी र चर्चित लोकगीत पस्केर एकै परिवारका नवीन, अभय र राजु ढुंगेलले लोक संगीतको संरक्षण र संबद्र्धन गर्न अहम् भुमिका निर्वाह गरेका छन् । गाउँघरमा मेलापात र बजारमा गाइने भाकालाई जस्ताको तस्तै संकलन गरेर संगीतमा ढाल्न उनीहरू माहिर छन् ।

यसरी लोकगीत संगीतलाई उच्च योगदान दिएका एकै परिवारका तीनै जना ढुंगेल अमेरिका पलायन भएका छन् । उनीहरू उतै बस्दै आएका छन् । अभय ढुंगेल र राजु ढुंगेल धेरै वर्ष पहिलेदेखि नै अमेरिकामै बसोबास गर्दै आएका छन् ।

यी ढुंगेल परिवारले गाएका गीत आज पनि उतिकै सुनिन्छ । यद्यपि यी गायकबारे राज्य र सम्बन्धित पक्ष उदासीन छ । स्वदेशमै राज्य र सम्बन्धित पक्षले बेवास्ता गर्दा कलाकार वर्षेनी पलायकन हुनेक्रम रोकिएको छैन ।