चेल्सी र बेन्फिका क्वाटरफाइनलमा

0
Shares

लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर क्लब चेल्सी र पोर्चुगीज क्लब बेन्फिका युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमन्डमाथि दोस्रो लेगमा २–० गोलअन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । यसअघि भएको पहिलो लेगमा चेल्सी १–० गोलअन्तरले पराजित भएको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० गोलअन्तरको अग्रता दिलाएका थिए ।

५०औं मिनेटमा काई हाभर्टजले पेनाल्टी चुकाएपनि ५३औं मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले जोडदार अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।

दुई गोलले पछि परेको डर्टमन्डले त्यसपछि घरेलु टोलीमाथि बल पोसेसन राखेर दवाव बढाएपनि गोल गर्न नसक्दा अन्तिम १६ बाटै बाहिरिन पुग्यो । जितपछि इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक ग्राहम पोटरले खेलाडीको मिहेनत र समर्थकको साथले नै डर्टमन्डविरुद्धको जित सम्भव बनाएको बताएका छन् ।

पोटरले बताए —‘जितपछि यहाँको माहोल निक्कै उत्साहजनक थियो । खेलाडीको मेहनत र सर्मथकहरुको साथले जित सम्भव भयो’,पोर्टरले भने,‘हामीले लगातार दस खेल जितेको बलियो टोलीसँग प्रतिस्पर्धा गरेका थियो । जसमा हामी सफल भयौँ ।’

त्यसैगरी पोर्चुगिज फरवार्ड गोन्कालो रामोसले दुई गोल र एक असिस्ट गरेपछि पोर्चुगिज क्लब बेन्फिकाले सानदार जित दर्ता गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा बेल्जियन क्लब ब्रुगमाथि ५–१ को तथा सम्रगमा ७–१ को सानदार जित निकाल्दै बेन्फिका अन्तिम आठमा पुग्न सफल भएको हो । बेन्फिकाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।

घरेलु मैदानमा बेन्फिकाको जितमा गोन्कालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले गोल गरे । क्लब ब्रुगका विजोर्न मेइजेरले एक गोल फर्काएका थिए । लिस्वोआमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै जोआओ मारियोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बेन्फिका अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा राफा सिल्भाले गोल गर्दै बेन्फिकालाई १–० को अग्रता दिलाए । उनले गोन्कालो रामोसको पासमा गोल गर्न सफल भए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रामोसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । उनले जोआओ मारियोको पासमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बेन्फिका सहज जिततर्फ अग्रसर बन्यो । उनले एलेक्स ग्रिमाल्डोको पासमा गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा जोआओ मारियाले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई ४–० ले अघि बढाए । खेलको ७७औं मिनेटमा डेभिड नेरेशले जोआओ नेभेसको पासमा गोल गरेपछि बेन्फिका खेलमा ५–० ले अघि बढ्यो । ८७औं मिनेटमा विजोर्न मेइजेरले टाजोन बुचानानको पासमा गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याएपनि क्लब ब्रुग पराजित हुँदै बाहिरिन पुग्यो ।