राष्ट्रपति निर्वाचन : दुवै उम्मेदवार निष्पक्ष नदेखिएको भन्दै राप्रपा तटस्थ बस्ने

0
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिका दुवै उम्मेदवारलाई भोट नगरि तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न नसकेकाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णयमा पुगेको बताए ।

बैठकको समापन लगतै पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उनीहरूबाट निष्पक्षताको परिकल्पना गर्न नसकिने बताउँदै तटूथ रहने निर्णय गरेको बताए ।

‘दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा हुनुहुन्छ, दुवै जना भर्खरै फरक फरक पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।’ लिङ्देनले भने, ‘उहाँहरूबाट अभिभावकीय भूमिका र निष्पक्षता परिकल्पना गर्न सकेनौँ । त्यसैले हामी तटस्थ बस्नु उचित हुन्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’

राष्ट्रपतिको निर्वाचन भोलि (बुधबार) हुँदैछ ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।