किरिया गर्दै छोरी !

0
Shares

भद्रपुर । छोरा नभए भाइ भतिजाले काजक्रिया गर्ने परम्परा रहेको राजवंशी जातिमा एकजना छोरी आफ्नो बुवाको कोरा (किरिया)मा बस्नुभएको छ । बिर्तामोड–४ मेघावारी टोल निवासी चन्द्रबहादुर राजवंशीको निधनपछि उहाँकी जेठी छोरी पूर्णवती राजवंशीले आफ्नो बुवाको काजकिरिया गरिरहनुभएको हो ।

चन्द्रबहादुरको फागुन १४ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रबहादुरका छोरा छैनन् । चार छोरी मात्रै छन् । जेठी छोरी पूर्णवती, माइली रीना, साइली रिता र कान्छी प्रमीलामध्ये जेठी पूर्णवतीले ११ दिनदेखि बाबुको कर्मकाण्ड गरिरहनुभएको छ ।

बाबुआमाप्रति छोरासरह छोरीहरूको पनि माया, श्रद्धा र दायित्व हुने भएकाले आफूले काजकिरिया गरिरहेको पूर्णवतीले बताउँनुभयो । पहाडे मूलका जातिमा छोरा, बुहारी र छोरी सबैले कोरा बस्ने परम्परा छ । तर, राजवंशी जातिमा छोरीलाई त्यो अधिकार दिइएको छैन । छोरा हुने बाआमाको छोराले र छोरा नहुने बाआमाको भाइ, भतिजा र अन्य बंशले काजकिरिया गर्ने चलन परम्परादेखि चल्दै आएको छ ।

आफूहरूले पनि अन्य जाति सरह बाआमाको काजकिरिया गर्न पाउनुपर्छ भन्ने जातीय मान्यता विकास गर्न कोरामा बसेको उहाँले बताउँनुभयो । पूर्णवतीले कपाल खौरिएर ११ औँ दिनको कर्म गर्ने जानकारी दिनुभयो ।

पूर्णवतीकी आमा सनावती राजवंशीले धेरै वर्षअघि राजगढमा राजवंशी जातिमा एकजना छोरीले बाबुको काजकिरिया गर्दा उनलाई गाउँ समाजले अप्ठ्यारोमा पारेको घटना सुनाउँनुभयो ।