तीन पत्रकारलाई साधना पत्रकार सम्मान


ललितपुर ।
नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मान प्रदान गरेको छ ।

१ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकार त्रय थाहा एफएमका सञ्चुकुमारी लामा, नेपाल टेलिभिजनका अञ्जना शिल्पकार र गोर्खापत्रका फोटोपत्रकार कविता थापालाई सो सम्मान प्रदान गरिएको हो ।

ललितपुरको पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा आयोजित एक समारोहकाबीच पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष एवं संयोजक रचना श्रेष्ठले फुलमाला लगाई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले दोसल्ला ओढाई र ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी (आस्था) शाक्यले सम्मानित हुनेहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

नेपालका पहिलो पत्रकार साधना प्रदानको नाउँमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई सो सम्मान प्रदान गरिएको उपाध्यक्ष एवं कार्यक्रम संयोजक रचना श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा उपमेयर शाक्यले पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति महिलाको उपस्थितिको लागि महानगरपालिकाले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले महिलामाथि हुने विभेद, सामाजिक रूपान्तरण र आदिवासी जनजातिको मुद्दा उठानका लागि पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं वरिष्ठ महिला साहित्यकार सुलोचना मानन्धर धितालले नेपालका पहिलो महिला पत्रकार साधना प्रधान अधिकारीको संघर्षपूर्ण जीवनगाथा, सामाजिक परिवर्तनप्रति अटुट प्रयासको विषयमा केन्द्रीत गर्दै आफ्नो भनाई राख्नुभयो । उहाँले विभिन्न भाषाभाषीको साहित्य क्षेत्रका महिलाहरूको व्यक्तित्व र योगदान बारे सञ्चारमाध्यमले उचित प्राथमिकता दिनुपर्नेमा खाँचो औल्याउनुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गजुरधनराईले सञ्चारमाध्यममा आदिवासी जनजाति महिलाको पहुँच, समाचारमा लैङ्गिक सवाललाई उठाउन फोनिजले काम गर्दै आएको बताउनुभयो । अध्यक्ष राईले नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन, मातृभाषाको पत्रकारिताको विकास गर्न राज्य र स्थानीय तहले ठोस काम गर्नुपर्ने बताउनुभयो ।

क्रियाशील महिला पत्रकार मञ्चका अध्यक्ष संगीता लामाले आदिवासी जनजाति महिलाहरूलाई ठूलठूला सञ्चारमाध्यममा काम गर्ने हैसियतमा पुर्याउन ज्ञान, सीप र तालिम दिने कार्यलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले आधा आकाश ढाकेका महिलाहरूको अधिकारप्रति उदासिनताले समाज परिवर्तन नहुने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका महासचिव के।के मानन्धर, सहसचिव सुनीता डंगोल र पुरस्कृत हुनेहरूको तर्फबाट सन्चु लामाले राज्यका हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्वको लागि पत्रकारिताको भूमिका प्रभावकारी हुनुपर्नेमा केन्द्रीत गर्दै आआफ्नो धारणा राख्नुभयो ।