मध्यपुरठिमीका उपप्रमुखमाथि अनुगमनका क्रममा कुटपिट भएको नगरपालिका र माओवादी केन्द्रको दाबी

प्रमुख र उपप्रमुखले पदीय मर्यादा भुले : एमाले

0
Shares

भक्तपुर ।

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख एवं नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठ पक्ष र एमाले मध्यपुर थिमी नगर सचिव सुमन जोशी पक्षले एक अर्कालाई हातपात गरेको आरोप लगाएका छन् ।

मध्यपुर थिमि–४ दुईपोखरी टोलमा ढुंगा छपाई कार्यको शुभारम्भका लागि आइतवार बिहान सो स्थानमा पुग्नु भएका उपप्रमुख श्रेष्ठमाथि नेकपा एमाले मध्यपुर थिमि नगर सचिव सुमन जोशी लगायतको समूहले कुटपिट गरेको नगरपालिका र माओवादी केन्द्रले जनाएका छन् ।

नगरपालिकाले सो घटनामा संलग्नमाथि आवश्यक कारवाही लागि प्रहरीलाई निवेदन समेत दिएको छ । नगरका विकास निर्माणका कार्यमा चित्त नबुझे बहश छलफल गरी समाधान गर्ने उपाय हुँदाहुँदैं कुटपिटमा उत्रिनु गलत भएको बताउँदैं नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले नगरप्रमुखको आदेशमा घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको जानकारी दिनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा बालकुमारी हात्तिमहांकाल सडक आयोजना अन्तर्गत सो सडकमा ढुंगा छपाईका लागि ७० लाख रुपैंया विनियोजन गरिएको थियो । सो योजना सञ्चालनका लागि गत माघ १९ गते नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको जनप्रतिनिधिको उपस्थितीमा स्थलगतरुपमै बालकुमारी हात्तिमहांकाल सडक उपभोक्ता समिति गठन गरिएको थियो ।

योजना अनुरुपको कार्य सूचारु गर्न उपभोक्ता समितिले निमन्त्रणा गरेअनुसार नगरप्रमुख र उपप्रमुखलगायतका जनप्रतिनिधिहरु आइतवार बिहान कार्यस्थल दुईपोखरी टोल पुग्नुभएको थियो ।

सोही बेला जोशीको समूहले ढुंगा छपाईको कार्य आफ्नो उपभोक्ता समूहले पाउनुपर्ने भन्दै विवाद शुरु गर्दै निर्माण कार्यमा अवरोध गर्न थालेपछि सम्झाई बुझाई गर्ने प्रयास गरिरहेको अवस्थामा एक्कासी जोशी लगायतको समूहले कुटपिट गर्न थालेको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।

“नगरप्रमुख, उपभोक्ता समितिका पदाधिकारी, स्थानीयलगायतको उपस्थितिमा ढुंगा छपाइको साइतका लागि दुईपोखरी पुगेका थियौं । जोशीले योजनाबद्ध रुपमै समूहमा आएर आक्रमण गर्‍यो,” उपप्रमुख श्रेष्ठले भन्नुभयो । आक्रमणका कारण शरीरको कम्मरको भागमा दुखाई महसुस भइरहेको उहाँले बताउनुभयो ।

सो सडकमा गतवर्ष जोशीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले ढुंगा छपाईको कार्य गरेको थियो । नगरपालिकाले यसवर्ष अर्को उपभोक्ता समिति गठन गरी कार्य आरम्भ गरेको विषयमा जोशीले विवाद गर्दै आइरहेको उपप्रमुख श्रेष्ठले बताउनुभयो । “गतवर्ष जोशीकै नेतृत्वमा ढुंगा छपाइको काम शुरु भएको थियो । समयमा काम सम्पन्न गर्न नसकेको, काम गुणस्तरिय नभएको जनगुनासो आएपछि यसवर्ष स्थानीय स्तरमा स्थलगत भेला गरेर अर्को समिति गठन गरेपछि जोशीको समूहले विवाद गर्दै आएका थिए,” उपप्रमुख श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठमाथि आक्रमण भएपछि नेकपा (माओवादी केन्द्र) आक्रोशित भएको छ । पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म र संयोजक सुनिल गोठे बासुले एक बिज्ञप्ति जारी गर्दै दोषी माथि कडा कारवाहीको माग गरेका छन् ।

योङ्ग कम्युनिष्ट लीग जिल्ला समन्वय समिति भक्तपुरका ईन्चार्ज नरेश रञ्जित र सचिब सरराज उप्रतीले पनि एक प्रेस बिज्ञप्ति जारी गर्दै जुनसुकै आवरण र उक्साहटमा गरिएको भएपनि यस्तो अक्षम्य अपराधमा संलग्न दोषीलाई कानुन बमोजिम कडा कारवाही गर्न पार्टी जोडदार माग गरेको छ ।
यता नेकपा एमाले मध्यपुर नगर कमिटीले मध्यपुरठिमी नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले आफ्नो पदिय मर्यादा भुलेको भन्दै बिरोध प्रदर्शन र नगरपालिका घेराउ गरेको छ ।

ने.क.पा एमाले मध्यपुर थिमी नगर सचिव सुमन जोशिलाई उपप्रमुख विजय कृष्ण श्रेष्ठले आफनो पदिय मार्यादालाई समेत बिर्सी स्वयम आफै र आफनो स्वकीय सचिव सचिन बज्राचार्य समेतका ६०–७० जनाले हुलहुज्जत गरि जानाजान कुटपिट गरि सख्त घाईते हुने गरि आक्रमण गरेको जनाएको छ ।
सो अपराधिक कार्यको लागि नेकपा एमाले मध्यपुर थिमी नगर कमिटी घोर भत्सर्ना गरेको छ । साथै सो आक्रमण हुँदा स्वयम उपस्थित रहेका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले तथ्य भन्दा बाहिर गई आफनो नगर प्रमुखको मर्यादालाई समेत भुली नपाको तर्फबाट महानगरीय प्रहरी वृत मध्यपुर थिमी समक्ष नगर प्रशासकिय अधिकृत मार्फत उजुरी समेत पेश गरेकोले सो कार्यको घोर भत्सना गर्दर्छौ बिज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाबाट विनियोजिट बजेट बमोजिम निर्माण कार्यको लागि उपभोत्ता समिति गठन गर्दा ‘सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि ०७९” अनुसार स्थानीय जनतालाई सार्वजनिक सूचना जारी गरि उपभोत्ता समिति गठन गर्नुपर्नेमा सो नगरीएको एमालेले जनाएको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थितिमा स्वेच्छाचारी तवरले वडा नं ६ स्थित उज्वल श्रेष्ठको अध्यक्षतामा बिना कुनै जानकारी वडा न. ४ र ५ स्थित दुई पोखरी देखी हाति महाकाल सम्म ढुङगा छाप्ने उपभोत्ता समिति गठन गरेको एमालले आरोप लगाएको छ ।

सो कार्यलाई तत्काल शंसोधन गरी कार्यविधि बमोजिम स्थानियहरुलाई सूचना दिई, वडाको प्रत्यक्ष रोहवरमा सुचना टाँस गरि उपभोत्ता समिति गठन गर्न पटक पटक मौखिक तथा लिखित रुपमा अनुरोध गरि उपभोत्ता समिति गठन गर्न माग गरिएको जनाएको छ ।

नगर प्रमुख समक्ष समेत ज्ञापनपत्र पेश गरि सकेकोमा सो माग विपरित हिजो नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा कार्य गर्न लाग्दा नियम विपरित भएको हुँनाले छलफल गर्न माग गर्दा नगर सचिव कंसुमन जोशीलाई उपप्रमुख श्रेष्ठले आफनो पदिय मार्यादालाई समेत बिर्सी स्वयम आफै र आफनो स्वकीय सचिव सचिन बज्राचार्य समेतका ६०–७० जनाले हुलहुज्जत गरि जानाजान कुटपिट गरि सख्त घाईते हुने गरि आक्रमण गरेको जनाएको छ ।

यस अपराधिक कार्यको लागि नगर कमिटी घोर भत्सर्ना गर्छौ भन्दै सो आक्रमण हुँदा स्वयम उपस्थित रहेका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले तथ्य भन्दा बाहिर गई आफनो नगर प्रमुखको मर्यादालाई समेत भुली नपाको तर्फबाट महानगरिय प्रहरी वृत मध्यपुर थिमी समक्ष नगर प्रशासकिय अधिकृत मार्फत उजुरी समेत पेश गरेकोले सो कार्यको घोर भत्र्सना गर्दछौ एमालेले भनेको छ ।

तसर्थ पदीय अधिकारलाई दुरुपयोग गरि गठन भएका उपभोत्ता समितिहरु सम्बन्धमा तत्काल कार्य रोकी स्थानीयहरुको सहभागितालाई सुनिश्चित गराई मध्यपुर थिमी नगरको वडा न १ देखी ९ सम्म कानूनसम्मत रुपमा “सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि ०७९ “अनुसार निमार्ण कार्य गर्न गराउन नपालाई उसले अपिल गरेको छ । माग सुनुवाई नभए आन्दोलन गर्न बाध्य समेत हुने एमालले चेतावनी दिएको छ ।

साथै जनस्तरको बिषयलाई लिएर अपराधिक कृयाकलाप गर्ने दोषीहरुलाई तत्काल कारवाही गर्न सम्बन्धित निकायहरुलाई एमालेले ध्यानाकर्षण गराएको एमाले नगर अध्यक्ष सुर्यलाल श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।