प्रहरीलाई ६ महिनादेखि अल्झाएको रुपाको त्यो शव…

हत्या पुष्टि  तर भेटिएन हत्यारा 

0
Shares

६ महिना अघि कास्कीको रुपा गाउँपालिका ५ देउराली स्थित मज्र्याङकोट बसौलाथरको एक पुरानो घरमा महिलाको शव सडे गलेको अवस्थामा भेटिएको शव प्रहरीको टाउको दुखाइको विषय बनेको छ । पोखरा महानगरपालिका ३० खुँदी बस्दै आएकी गौरी बसौला हराएको दुई हप्तापछि सडे गलेको अवस्थामा उनकै पुरानो घरको छेउको घरमा शव फेला परेको थियो । घटनालाई लुकाउन आत्महत्या देखाउने प्रयास गरे पनि हत्यारा भने लुकाउन चुकेका थिए । स्थलगत प्रारम्भिक अनुसन्धानले नै आत्म हत्या नभई हत्याको पुष्टि गरेको थियो ।

उक्त घटनालाई लिएर प्रहरीमा हत्या भएको भन्दै परिवारले जाहेरी समेत दिएका थिए । तर घटना भएको ६ महिना बितिसक्दा समेत कुनै टुंगो लाग्न सकिरहेको छैन । प्रहरी बारम्बार घटनाको नजिक पुगे पनि हत्यारा को भन्ने कुराको यकिन गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार घटनामा केही व्यक्तिमाथि आशंका गरिएको छ । तर प्रमाण अपुग भएकै कारण पक्राउ गर्न सकिएको छैन ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनाको प्रगति विवरण सार्वजनिक गर्‍यो तर, रुपाको घटनाको बारेमा भने कुनै जानकारी नै गराएनन् । प्रहरी उक्त घटनामा विफल भएको देखिन्छ ।

कास्की प्रहरीमा नयाँ नेतृत्व आएको पनि धेरै भइसक्यो तर घटनाको बारेमा भने कुनै टुंगो लागेको छैन । एसपी र डिएसपी नै फेरिइसकेको कास्कीको त्यो घटनाले प्रहरीलाई अल्झाई रहेको थियो ।

भरखरै मात्र कास्कीको डिएसपीमा श्रवण कुमार विक आएका छन् । उनले पत्रकार सम्मेलनमार्र्फत भेटघाट गरे पनि यो विषयमा भने केही प्रतिक्रिया दिएनन् । उक्त घटनाको अनुसन्धानको नेतृत्व वरिष्ठ सई मनोज पाण्डेले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले घटनाको नेतृत्व इलाका प्रहरी कार्यालय डाँडाको नाक हंसपुरको प्रमुखले लिएको र नतिजा चाडै आउने बताए । उनले घटनको बारेमा केही असहजता भएपनि ढिलोचाडो पक्राउ पर्ने बताए ।

‘घटनालाई लिएर इलाका प्रहरी कार्यालय शिशुवामा जाहेरी परेको छ । हामीले अनुसन्धान गरिरहेका छौँ । तपाईँले भनेझैँ केही ढिला अवश्य भएको हो तर कामै नगरी बसेको भने होइन’ उनले भने,‘शव सडे गलेको अवस्थामा भएकाले पनि कठिनाइ भयो । घटनाबाट कोहिपनि उम्किन भने पाउनेछैन ।’

साउन २६ गते बेलुका घाँस काट्न हिँडेकी गौरी सम्पर्क विहीन भएकी थिइन् । तीन घर मात्रै रहेको उक्त स्थानमा २ घरमा परिवार बस्दै आएका थिए । एक घरमाथि र २ घर तल रहेको थियो । उनको शव भेटिएको घरको छेउमा श्रीमान् र आमा बस्दै आएका थिए भने, माथिल्लो घरमा बुद्दिमान परियारको परिवार बस्दै आएका थिए । गौरीको परिवारले त्यही घरको मुनि बाख्रा पालेका थिए ।

कोही पनि नबस्ने पुरानो घरमा कुहिएर किरा परेको अर्धनग्न अवस्थामा उनको शव फेला परेको हो । बाहिरबाट ताल्चा लगाएको घरको आर्टीँमा उनको शव भेटिएको स्थानीय महेश्वर बसौलाले जानकारी दिए । उनका अनुसार त्यो घरमा एक हप्तादेखि सिनो गन्हाएको भएपनि चाबी लाएको कारण कसैले भित्र गएर हेरेको थिएन । ‘२६ गते साँझ घाँस काट्न घरबाट हेडेकी रहिछन्, एक अँगालो घाँस काटेर हराएकी हुन्’ उनले भने,‘ राती हराएको खबर पाएपछि सबैले तल तिर (पोखरा ३० खुँदी) नजिकै खोजी भयो । बिहान हामीले सबै तिर खोज्यौ तर, भेटिएन ।’

निकै दुर्गन्ध आएपछि घरमा कोही नभएका कारण सोममाया परियार एक्लै गएर हेर्न डराएको उनले बताए । उनले घटनास्थलमा नाम्लो आँसी पुरानो गाग्रीमा पानी, गिलासमा पानी राखेको समेत फेला पारेको सुनाए । ‘डोरी लगाएको छ तर उत्तानो अवस्थामा शव छ । केही पनि चिन्ने अवस्था नै छैन’ उनले भने । गौरी वर्षैदेखि खुदीमै बस्दै आएकी थिइन् । खुदीबाट पुरानो घर करिब १५ किलोमिटरभन्दा बढीको दुरीमा जानुपर्छ । खुदीबाट हिँडेर आउन निकै टाढा रहेको महेश्वरले बताए ।

साउन २७ गते जनै पूर्णिमाका दिन श्रीमान्लाई ससुरालीमा धागो (जनै) लगाउन जाने भए जाउँ भन्दै आग्रह गरेकी उनी एकाएक हराएको र मृत अवस्थामा फेला परेको हो ।

उक्त घरमा करिब एक हप्ता अघिदेखि गन्हाउन थालेपछि बुद्धिबहादुर परियारले गाउँमा भने पनि सिनो होला भनेर बेवास्ता गर्दै आइरहेका थिए । ‘अलिकति मुनि बाख्रा पालेको थियो त्यही २०–२१ वटा होलान् । ६/७ दिन अघिबाट निकै गन्ध आएको थियो । हामी त मुसा वा त्यस्तै केही मरेर गन्ध आएको होला भन्ने साच्यौँ’ बुद्धिले भने,‘ त्यो गन्ध आएपछि रामचन्द्र बसौला (वडा सदस्य), हरिचन्द्र बसौला, सूर्य पाण्डे लगायतले दिउसो हेरेका पनि हुन् । केही देखेनन् रे म त डर लाएर गइन् ।’

महेश्वरले बुद्धिमानको श्रीमती सोममाया परियारले भेटि लिएर जाने क्रममा निकै गन्ध आएको बताएपछि त्यहाँ आएर पुनः हेरिएको थियो । उनले ढोकामा चाबी लगाएको देखेपछि त्यहीका एक निवृत्त आर्मीले ढोकाको चाबी फोडेर हेर्नुपर्छ भनेपछि प्रहरीको रोबरमा चाबी फुटालिएको हो । रुपा ५ देउरालीमा रहेको प्रहरी विटबाट आएका प्रहरीको रोहबरमा चाबी फुटालेर हेर्दा शव देखिएको थियो । शव गौरीकै भन्ने छिमेकी र परिवारले पहिचान गरेका हुन् । उक्त स्थानबाट प्रहरीले पासो बनाएको र चुँडिएको अवस्थामा नाम्लोको डोरी, आँसी, विभिन्न औषधीका खोल, पानी समेत भेटेको वडा सदस्य रामकृष्णले बताए ।

उनको शव अर्ध नग्न अवस्थामा रहेको थियो । भित्रीवस्त्र्र खोलिएको र कसैले तलको अर्को कपडा लगाइदिएको जस्तो अवस्थामा शव भेटिएको प्रहरी स्रोतले बताए । यस्तै नाम नबताउने सर्तमा एक स्थानीयले चिउराका प्याकेट, भित्रीवस्त्र फुकालेर छेउमा राखिएको, कुर्था पेटभन्दामाथि र तल लगाउने सुरुवाल कसैले आधा लगाइदिएको जस्तो अवस्थामा शव रहेको थियो । जसका कारण उक्त घटना आत्महत्या नभई हत्या भएको आशंका गरिएको छ । उनका अनुसार जंगलको बाटो करिब दुईदेखी ३ घण्टासम्म हिँडेर त्यहाँ आएर आत्महत्या गरेको हुन सक्ने असम्भव छ । ‘जंगलको बाटो छ । आउन निकै टाढा छ । कोहीसँग आएको हुन सक्छ’ उनले भने,‘यो ठाउँमा पुरुष मान्छे त रातमा हिडन् डराउँछन् उनी कसरी आइपुगिन् भन्ने हो ।’

श्रवण कुमार विक आउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता सम्हालेका डिएसपी सुन्दर तिवारीले आत्महत्या वा हत्या भन्ने विषयमा अनुसन्धान भइराखेको बताएका थिए । उनले घटनाको बारेमा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने बताएपनि कुनै दिन पोष्टमार्टम रिर्पोटको बारेमा बोलेनन् । उनले फासीँ लगाएको वा विष सेवन अथवा कुनै व्यक्तिको संलग्नता भन्ने विषयमा फरक तरिकाले अनुसन्धान गरिराखेको बताएका थिए ।

गौरी हराएपछि उनका श्रीमान् बाख्रा पालेको स्थानमा नगइ पोखरा खुदीमा रहेको घरमा बसेका थिए । गौरीको १ छोरा र १ छोरी पनि खुदीमै बसेका कारण श्रीमान् डोलराज बसौला गाउँ छाडेर बजारमा बसेका थिए । त्यसको ४/५ दिनको अन्तरालमा डोलराजका आमा पनि खुँदी झरेको स्थानीयहरु बताउँछन् । उनीहरुको घरभन्दा १ मिनेट माथि हिँडेपछि केही बस्ती छ । ३/४ मिनेट घरभन्दा तल जाँदा केही घरहरु रहेका छन् ।