राष्ट्रपति निर्वाचनले निम्त्याएको संकट



आउँदो फागुन २५ गते मुलुकले तेस्रो राष्ट्रपति पाउने निश्चित भएको छ । राष्ट्रपतिका लागि दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नयाँ गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिमा उठाउने निर्णय सार्वजनिक गरेको छ । राष्ट्रपति निर्वाचनले सत्तारुढ गठबन्धनसमेत भत्किएको छ । नेपालको राजनीतिमा अस्थिर पात्रको उपमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो अस्थिर चरित्रलाई फेरि एकपटक संसारसामु छर्लङ्ग पारेका छन् । संसद्मा तेस्रो शक्तिको रूपमा उभिएको नेकपा माओवादीले आफैंले विगतमा गरेको समझदारीलाई तोड्दै नयाँ समीकरण गरेर मुलुकलाई थप संकटतर्फ धकेल्ने प्रयास गरेको छ । पदका लागि प्रचण्डले जे पनि गर्छन् भन्ने उक्तिलाई चरितार्थ गर्दै राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र अहिलेको गठबन्धनबाट बाहिरिने निर्णयसमेत गर्न भ्याउनुले राजनीतिलाई थप लज्जित बनाउने काम भएको छ । प्रधानमन्त्री पदका लागि जे पनि गर्न तयार रहेका प्रचण्डले नेकपा एमालेलाई फेरि एकपटक जिल्याउन सफल भएका छन् । गत पुस १० गते भएको सहमतिलाई सजिलै भत्काएर आफ्नो प्रधानमन्त्री पद जोगाउन प्रचण्ड सफल भए पनि इतिहासमा भने कलंकको टीका लगाउने काम प्रचण्डबाट हुनु पक्कै राम्रो काम होइन ।

पदका लागि राजनीतिक इमान नै बेच्ने काम राम्रो होइन । नेकपा एमालेलगायतका दलहरूसँग गरेको विगतको समझदारीलाई एकाएक तोडेर प्रचण्डले मुलुकमा कस्तो शासन व्यवस्था ल्याउन खोजेका हुन् नेपाली जनताले बुझ्न सकेका छैनन् । नेपाली कांग्रेस सत्ताबिना बस्न नसक्ने आफ्नो विगतको चरित्रलाई व्यवहारमा उतार्दै प्रचण्डलाई आफ्नो पक्षमा ल्याउनु उसको सफलता होला तर मुलुकका लागि भने यसले पक्कै पनि भलो गर्ने देखिँदैन । आफ्नो भनेजस्तो नभए जुनसुकै बेला गठबन्धन फेरबदल गर्ने काम हुनुलाई पक्कै राम्रो मान्न सकिँदैन । सत्ता कसको हो को सत्तामा जान्छ त्यो गौण विषय हो । मुलुकले विकास खोजेको छ । अस्थिरता होइन स्थिरता खोजेको छ । तर, त्यो अहिले सम्भव देखिँदैन । जनताका आम समस्या समाधान गर्नुपर्ने अहिलेको आवश्यकता हो तर दलहरू भने आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुँदा मुलुकमा संकट पैदा भएको छ ।

राष्ट्रपति निर्वाचनमा जसले जिते पनि मुलुकले भने हार्ने अवस्था सिर्जना भएको छ । अहिलेको आवश्यकता के हो जनताले के खोजेका छन् त्यसतर्फ दलका नेताहरूको ध्यान पुगेको देखिँदैन । हिजो सत्तामा भएकाहरू बाहिरिने र सत्ता बाहिर भएकाहरू सत्तामा जाने कामले निरन्तरता पाउनेबाहेक मुलुकले केही पाउने देखिँदैन । आज प्रचण्डले शुरू गरेको अस्थिर चरित्रले नेपालको आन्तरिक मामिलामा विदेशीहरूको चासो कति बढेको छ भन्ने कुरा पछिल्लो घटनाक्रमले पुष्टि गर्दै गएको छ । आफ्नो निर्णयमा उभिन नसक्ने नेताले जनताका लागि के गर्लान् यो सोचनीय विषय पनि बनेको छ । दलगत स्वार्थले केही व्यक्ति वा समूहलाई फाइदा गर्ला तर मुलुकका लागि भने केही हुने देखिँदैन त्यसैले यस्ता नेता वा दललाई जनताले खबरदारी गर्नुपर्ने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्