काँकडभिट्टा–लौकही सडक साउनदेखि निर्माण शुरू

0
Shares

भद्रपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वखण्ड झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्रबाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने भएको हो ।

सडकको नक्शाकङ्न गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायका अनुसार ठेक्का परिसकेकोले ठेक्का खोल्ने प्रक्रियामा नै भएकाले निर्माण कार्य शुरु हुन अझै तीन देखि चार महिना लाग्ने जनाउँनुभयो ।

वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको अन्तिम चरणको काम भइरहेकाले ठेक्का खोल्न ढिलाइ भएको जानकारी दिए । आगामी साउनदेखि निर्माण कार्य नै शुरु हुने उहाँको भनाइ छ । ठेक्का खोलेपछि मात्रै निर्माणमा लाग्ने रकमको बारेमा यकिन गरेर भन्न सकिने उहाँले जनाउँनुभयो । ‘अहिले नै भन्दा हतार हुन्छ तर, पनि करीब ४० अर्ब रुपियाँ निर्माणको लागत लाग्ने अनुमान गर्न सकिन्छ उहाँले भन्नुभयो ।’

निर्माण शुरु भएको तीन वर्षमा सडकको निर्माण कार्य सम्पन्न हुने अवधि तोकिएको सडक खण्डको पहिलो चरणमा काँकडभिट्टादेखि ९६.५ किलोमिटर निर्माण सम्पन्न गरिनेछ ।

त्यो भनेको इटहरी पश्चिममा रहेको भाटभटेनी सुपर मार्केटसम्म पहिलो चरणमा निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

सडक मूलतः चार लेनको बन्नेछ । तर मुख्य बजार क्षेत्र र शहरी क्षेत्रमा दुवैतर्फ ६.५ मिटरको स्पेश लेनका रुपमा अतिरिक्त सडक निर्माण हुनेछ भने घर जनसङ्ख्या भएको क्षेत्रमा पछि ६.५ मिटर नै पुग्ने गरी अहिलेलाई दुवैतर्फ ३.५ मिटर स्पेश लेन निर्माण हुनेछ ।

अहिले भएका पुलको दक्षीणतर्फबाट थप दुई लेनको पुल बन्ने छ । त्यसमध्ये तीन सय मिटरभन्दा लामो पुलहरु निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहान्द्रा खोलामा नयाँ डिजाईनको सिग्नेचर ब्रिज बन्नेछ ।

अहिले भईरहेका मध्ये अवधी पुगिसकेका १५ देखि २० वटा पुलहरु चार लेनकै हुनेगरी नयाँ निर्माण गरिनेछ । झापाको चारआली चोक र सुनसरीको इटहरी चोकमा अण्डर पास हुनेछ । जसमा पुर्वपश्चिम राजमार्ग माथिबाट र उत्तरदक्षीण राजमार्ग तलबाट हुनेछ ।

त्यस्तै झापाको बिर्तामोडमा मुख्य चोकमा जक्सन सुधार गरिएको हुनेछ भने बिर्तामोडको शुरुवात र अन्तिम बिन्दुमा गरी दुई वटा अण्डर पासको निर्माण हुनेछ । त्यस्तै अन्य मुख्य चोकहरु धुलाबारी, दमक लगायतका स्थानहरुमा जक्सन सुधार गरिनेछ ।

सबै शहरी क्षेत्रमा फुटपात, साइकल लेन र आकासे पुल निर्माण हुनेछ । केही स्थानहरुमा पैदल यात्रीका लागि मात्रै हुने गरी अण्डर पासको निर्माण गरिनेछ । सडकका मुख्य क्षेत्रहरुका ट्राफिक लाईटको व्यवस्था हुनेछ भने केही स्थानहरुमा बिना ट्राफिक लाईटको सडक सुरक्षाको व्यवस्था गरिनेछ ।

चारआली, पथरी, कानेपोखरीको जङ्गल क्षेत्रमा बाँदर बाहेकका वन्यजन्तुहरुका लागि सडक वारपार गर्न अण्डर पासको व्यवस्था गरिनेछ भने बाँदरका लागि मात्रै हुनेगरी सडक वारपार गर्न सजिलोका लागि सडकको माथिबाट विशेष प्रकारको टनेल बनाइने छ ।

त्यस्तै मोरङको बेतना सिमसार क्षेत्रमा कछुवालाई सडक वारपार गर्न बिषेश प्रकारको टनेल निर्माण हुनेछ । सडक निर्माण गर्दा भत्किने पूर्वपश्चिम राजमार्गसँग जोडिएका उत्तर दक्षिणका शाखा सडकका कल्भर्टहरु समेत निर्माण गरिनेछ भने मुख्य सडकलाई सहज बनाउन केही नयाँ कल्र्भटहरु समेत निर्माण गरिनेछ ।

सडकको माथिल्लो भाग उच्च गुणस्तरिय अस्फल्ट कङ्क्रीटको बन्नेछ भने तल्लो भाग डिभिएम प्रविधिको उच्च गुणस्तरको हुनेछ । सडकको दुई लेनको बिच भागमा विभिन्न जातका बिरुवा रोप्नका लागि खाली ठाउँ छोडीएको हुनेछ । जसमा विभिन्न प्रजातीका बिरुवा रोपिनेछ र सडकको दुवैतर्फको किनारामा पनि रैथाने जातका फुलहरु रोपिनेछ । जसबाट सडक आकर्षक देखिनुका साथै वातावरण मैत्री हुनेछ ।

सडक निर्माण गर्दा आवश्यक केही स्थानहरुमा नदी नियन्त्रणको काम समेत गरिनेछ । सडकलाई जोखिम हुने क्षेत्रका नदिहरुमा बहाब नियन्त्रणका काम समेत गरिनेछ ।

सडकको डिजाईन २० बर्षका लागि गरिएको छ । त्यसभन्दा पछि त्यसलाई परिमार्जन गर्दा समेत धेरै समस्या नहुनेगरी व्यवस्थापन गरिएको छ भने ठेकेदार कम्पनीले तीन वर्षमा निर्माण कार्यसम्पन्न गर्नु पर्नेछ र थप एक वर्ष भएको निर्माणको मर्मत गर्ने समय हुनेछ ।

त्यसपछि पनि लगातार ५ बर्षको समयभित्र पनि कही कतै सडक भत्किए निर्माण कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने व्यवस्था बोलपत्र आव्हान गर्दा नै उल्लेखित सर्तहरु पत्रमा समावेश गरिएको जनाइएको छ ।