फेरि च्याम्पियन बन्ने धोको रियलको

0
Shares

लन्डन, एजेन्सी । ‘हामी फेरि यो च्याम्पियन्स लिग चाहन्छौं’ यो भनाइ हो करिम बेन्जामाको । रियल मड्रिडका यी अनुभवी खेलाडीले लिभरपुलमाथि टिमको शानदार जितपछि भनेका थिए । लिभरपुललाई उसैको मैदानमा ५–२ ले हराएपछि नै रियलको उपाधि जित्ने संभावना पनि बलियो भएको छ ।

यदि उपाधि फेरि जितेमा यो रियलको करियरमा १५ औं च्याम्पियन्स लिग ट्रफी हुनेछ । लिभरपुलसँग हुन त रियल शुरुवाती १४ मिनेटमै २–० ले पछि परेको थियो । तर, भिनिसियस जुनियरले दुई र एडर मिलिटाओले एक गोल प्रहार गरे भने बेन्जामा स्वयमले पनि दुई गोल हानेर रियलको जित संभव भयो ।

युरोपियन खेलमा लिभरपुलको एनफिल्ड मैदानमा यसअघिसम्म कुनै पनि बाहिरको टोलीले तीन गोलभन्दा बढी गर्न सकेको थिएन । साथै दुई गोलले पछि परेर जितेको पनि कुनै रेकर्ड थिएन । तर, रियलले साँच्चिकै रियल खेल देखाए र पहिलो पटक एनफिल्डमा दुर्लभ रेकर्ड रचिदियो ।

रियल भनेको स्पेनी शब्दमा रोयल यानि शाही हो । उनीहरुले पछिल्लो नौ सिजनमा ५ युरोपियन च्याम्पियन्स ट्रफी जितेको छ । यसमा दुई उपाधि लिभरपुलविरुद्ध नै जितेको थियो । बेन्जामाले बताए—हामीले राम्रो खेल्यौ र गोल निकाल्यौ, हामी यो च्याम्पियन्स लिग फेरि चाहन्छौ । र जसले हेरिरहेका थिए उनीहरुको लागि पनि राम्रो खेल थियो । शुरुको १५ मिनटेपछि हामीले देखायौ साँचो रियल मड्रिड । उनीहरुले हामीले भन्दा राम्रो शुरुवात लिए तर यो ठूलो खेल थियो र हामी तयार थियौं ।

न्युक्यासल यूनाइटेड र इंग्ल्यान्डका लिजेन्ड एलान शीरेरले यो खेल हेरेका थिए । यो खेलबाट धेरै प्रभावित भएको भन्दै उनले बताए —रियल मड्रिड दुःखित हुँदैन । यो अदभुत, अविश्वसनीय भयो किनभने कसरी खेलमा पुनरागमन गर्ने रियलले थाहा छ । यो ज्यादै अनुभवी बटोरेको क्लब पनि हो ।

रियलले यस्तो नाटकीय पुनरागमन गरेको यो पहिलो पटक भने होइन । गत सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनविरुद्ध पहिलो र दोस्रो लेग गरी टोली २–० ले पछि थियो । तर, बेन्जेमाले ह्याट्रिक गरेर रियललाई क्वार्टरफाइनलमा पु¥याएका थिए ।

क्वार्टरफाइनलमा पनि चेल्सीविरुद्ध रियल दुबै लेग गरी ४–३ ले पछि थियो । दोस्रो लेग सकिन करिब १० मिनेट मात्रै बाँकी थियो र चेल्सीको अग्रता कायमै थियो । तर, रोड्रिगोले ८० औं मिनेमा गोल गरेर खेल ४–४ बराबरी गरे भने बेन्जेमाले अतिरिक्त समयमा विजयी गोल गरेका थिए ।

सेमिफाइनलको पहिलो लेगमा रियल म्यानचेस्टर सिटीसँग ४–३ ले हारेको थियो । दोस्रो लेगमा २–० को जित निकाल्नु थियो रियलको लागि । यसमा पनि रियल पुनरागमन गर्न सफल भयो । दोस्रो लेगमा रियल ३–१ ले जित्यो र ६–५ को अग्रतासँगै टोली फाइनलमा पुग्यो । फाइनलमा रियलले लिभरपुललाई १–० ले हराएर १४ औं च्याम्पियन्स लिग उपाधि हात पार्न सफल भएको थियो ।

रियलमा युवा खेलाडी

च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध भिनिसियसले ५ गोल गरिसकेका छन् । यो भन्दा बढी बेन्जेमाले ६ गोल गरेका छन् । तर, भिनिसियसको उमेर २२ वर्ष मात्रै हो । लिभरपुलका मेनेजर यर्जेन क्लोपले पनि भिनिसियसको प्रशंसा गर्दै बताए—भिनिसियस विश्वमा उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

ब्राजिलियन खेलाडी भिनिसियसले यस सिजनमा रियलका लागि सर्वाधिक गोल गरेका छन् । उनले अहिलेसम्म १६ गोल गरिसकेका छन् । ३५ वर्षीय बेन्जेमाले भने १४ गोल गरेका छन् । लिभरपुलका पूर्व मिडफिल्डर स्टेभन जेर्राडले बताए कि बेन्जेमा विश्वमा उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।