विजेता क्रिकेटर टोलीलाई नगद पुरस्कार



काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गरेका हुन् ।

‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिंगो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरुले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु’ खेलाडीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने ।

गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएईमा हुने सिरिजका लागि नेपाली टोली फागुन १३ गते त्यसतर्पm जाँदैछ । नेपालले पहिलो खेल फागुन १५ गते पपुवा न्युगिनीसँग खेल्नेछ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टू को सिरिज खेल्न युएई जाने खेलाडीलाई शुभकामना दिएका छन् । ‘तपाईंहरुले एउटा रेकर्ड बनाउनु भएको छ, त्यसका लागि म तपाईंहरुलाई बधाई दिन्छु,’ प्रचण्डले भने, ‘चारमा चार खेल जितेर नेपाली जनताको शीर ठाडो बनाउन एउटा भूमिका खेल्नु भएको छ ।’

प्रचण्डले आफूले सरकारमा रहँदा पनि र नरहँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिने गरेको बताए । अहिले खेलकुदको शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर देशको प्रतिष्ठा र कुटनीतिक सम्बन्ध बिस्तारमा पनि योगदान रहने भन्दै प्रचण्डले सरकारले खेलकुदलाई उच्च महत्व दिने बताए ।

२/२ लाख पाउने खेलाडीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र सन्दीप लामिछाने रहेका छन् । सन्दीप टिममा छैनन्स्पिनर सन्दीप आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने टोलीमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा अटेनन् । नेपाली टोलीमा मौसम(श्याम) ढकाल र प्रतिश जि.सी पहिलो पटक टोलीमा परेका छन् ।

बलात्कार आरोप लागेको मुद्दा विचाराधीन भएकोले सन्दीपलाई विदेश जान अनुमति छैन । त्यसैले उनी टोलीमा छैनन् । हालै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए ।

अन्तिम विदेश भ्रमणको रुपमा नेपाली टोली युएई जाँदैछ । त्यहाँ युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ । त्यसपछि घरेलु मैदान त्रिविमा युएई र पपुवा न्युगिनीसँग समान दुई खेल खेल्नेछ । नेपाललाई सोझै ओडिआई मान्यता बचाउन ८ मध्य पाँच खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न सबै खेल जित्नुपर्ने हुन्छ।

नेपालले अब २७ फेबु्रवरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले मार्च ९ मा त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ । जुन लिग २ को अन्तिम खेल समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्