इन्टरको जित, सिटी बराबरीमा



लन्डन, एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इन्टर मिलान विजयी भयो भने म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा इटालियन सिरी ए क्लब इन्टर मिलानले पहिलो लेगमा सफलता हात पारेको हो । घरेलु मैदानमा इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई १–० गोलअन्तरले पराजित गरेको हो । १० खेलाडीमा समेटिएको पोर्टाेविरुद्ध लुकाकुले दोस्रो हाफमा गरेको गोल नै इन्टरको जितमा पर्याप्त बन्यो ।

मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले बल पोसेसन राख्दै पोर्टाेलाई दवाबमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको ७८औं मिनेटमा पोर्टाे १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इन्टरले उठाउन सफल भयो । ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टाेमाथि दवाब बढेको थियो । त्यसपछि निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी लुकाकुले गोल गर्दै इन्टरलाई जित दिलाए । उनी ५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका थिए ।

यस जितले इन्टरको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ । अब १४ मार्चमा पोर्टाेमा मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके इन्टर क्वाटरफाइनलमा पुग्नेछ । पोर्टोलाई भने दुई गोलअन्तरको जित अनिवार्य बनेको छ ।

त्यसैगरी सुरुवाती अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकियो । सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका लागि रियाद महारेजले गोल गर्दा घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए । रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई लगातार दवावमा राखेपनि गोलको लागि भने निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको २७औं मिनेटमा अग्रता लिएको सिटीले त्यो अग्रतालाई भने जोगाउन सकेन । रियाद महारेजले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए । खेलको ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब १४ मार्चमा सिटीको मैदानमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली क्वाटरफाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्