जावलाखेल उग्रचण्डीमाई परिसरमा डोजर, गुठियारको विरोध

0
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित उग्रचण्डीमाई परिसरसँगै जोडिएको सांस्कृतिक महत्वको क्षेत्र मास्न खोजेको भन्दै गुठीयार र स्थानीय संस्कृतिप्रेमीले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय गुठियारहरूले धार्मिक सांस्कृतिक पर्व र पूजाआजाको क्रममा प्रयोग गर्दै आएको महानगरपालिका–४ (ङ) मा पर्ने कित्ता नं १३५ भित्र रहेको सो क्षेत्रमा लगाइएको बार, पर्खाल नगर प्रहरीले डोजर लगाएर भत्काएको थियो । महानगरपालिकाले सो क्षेत्रमा फुटपाथ बनाउने टेन्डरबाट बचेको रकमले पार्क बनाउन लागिएको हो ।

ताम्रकारको कुलदेवताको रूपमा रहेको उग्रचण्डीमाई परिसरमा रहेको चौरमा सांस्कृतिक महत्वलाई बेवास्ता गर्न खोजेपछि स्थानीयले बिहीबार विरोध प्रदर्शन गरेका हुन् । ताम्रकार समाजको अगुुवाइमा टंगलमा जम्मा भई स्थानीयले पुल्चोकस्थित महानगरपालिका घेराउ गरेका थिए । घेराउका क्रममा महानगरपालिकको वातावरण केहीबेर तनावग्रस्त बनेको थियो । उनीहरूले ‘खबरदार, ऐतिहासिक चौर तथा सम्पदा मास्न पाइँदैन’ भन्ने प्लेकार्ड र ब्यानर बोकेर आएका थिए ।

धार्मिक पूजाआजा, पर्व, संस्कारजस्ता अमूर्त संस्कृतिको कार्यक्रमको सञ्चालनका क्रममा सो क्षेत्र मोसिख्यः नामक चौर हो । ‘ताम्रकारले समाजले आफ्नो धार्मिक पूजाआजा, संस्कार र गुठी सञ्चालनका क्रममा सयौं वर्षदेखि प्रयोग गर्दै आएको क्षेत्रमा जानकारी नदिई एकाएक डोजर लगाउनुहुन्छ र ?’ –समाजका अध्यक्ष विनोद ताम्रकारले भन्नुभयो ।

महानगरपालिका वा वडाले सो क्षेत्रलाई सांस्कृतिक हिसाबले संरक्षण गर्ने हो भने गुठियारहरूको असहमति नरहने बताउँदै अध्यक्ष ताम्रकारले भन्नुभयो– ‘सांस्कृतिक महत्वको सार्वजनिक जग्गामा सोहीअनुरूप राखिराख्नु महानगरपालिकाको कर्तव्य हो ।’

समाजले गत माघ १९ गते सो क्षेत्रको सांस्कृतिक महत्व झल्किने गरी ढुंगा छाप्ने, सिमेन्ट ब्लक नै भए पनि झट्ट हेर्दा देखिने तेलीय इँटा लगाउन माग गर्दै महानगरपालिका, पुरातत्व विभाग र गुठी संस्थानसमक्ष पत्र पठाएको थियो । ‘त्यस क्षेत्रमा हटाइएका इनार, पानीको परम्परागत भण्डारका रूपमा रहेको जःरु (जलद्रोण) लाई पुनः स्थापना गरी सांस्कृतिक महत्वको चौर संरक्षण गर्नुपर्नेमा उल्टै अतिक्रमण गर्न खोजेकोमा हाम्रो विरोध रहन्छ’, अध्यक्ष ताम्रकारले भन्नुभयो– ‘कुनै पनि हालतमा सांस्कृतिक महत्वको क्षेत्र अतिक्रमण हुन दिन्नौं ।’
विगतमा सो क्षेत्रको अतिक्रमण गरी कालोपत्र गरिएको थियो । त्यसक्रममा ऐतिहासिक सम्पदा जःरुलाई अन्यत्र सारी बेवारिस अवस्थामा पारेको स्थानीय गुठियार अच्युतकृष्ण ताम्रकारले बताउनुभयो ।

महानगरपालिका–४ का वडाअध्यक्ष सन्तोष खड्काले सो क्षेत्रमा स्थानीय मानिसहरू बस्ने मिल्ने गरी पार्क बनाउन लागिएको जानकारी दिनुभयो । ‘पार्क बनाएर त्यहाँको इनारहरू संरक्षण गर्ने छौं’, वडाअध्यक्ष खड्काले भन्नुभयो– ‘त्यसले गर्दा कसैले पनि विरोध गरिरहनुपर्ने आवश्यक छैन ।’ सो क्षेत्र पार्किङका लागि प्रयोग भइरहेको उल्लेख गर्दै वडाअध्यक्ष खड्काले त्यसको अन्त्यका लागि पार्क बनाउनुपर्ने खाँचो औंल्याउनुभयो ।

यसैबीच सो क्षेत्रमा अतिक्रमण नगर्न ताम्रकार समाजको तर्फबाट महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसमक्ष ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्ने क्रममा मेयर महर्जनले सो क्षेत्रमा हरियाली पार्क बनाउने तयारी भइरहेको बताउनुभयो ।