राष्ट्रपति निर्वाचन : कांग्रेसभित्र पौडेल र सिटौलाबीच प्रतिस्पर्धा

0
Shares

काठमाडौं । आगामी राष्ट्रपतिको उम्मेदवारका विषयमा नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच तीव्र प्रतिष्पर्धा चलेको छ । सत्ता गठबन्धन भत्कने र पुरानो पाँच दलीय गठबन्धन ब्युँतिने खेल शुरू भएपछि कांग्रेसले राष्ट्रपति पाउने सम्भावना बढेसँगै नेताहरूबीच उम्मेदवारीका लागि प्रतिष्पर्धा चुलिएको हो ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बाहिर हल्ला भएजस्तो आन्तरिक समस्या नभएको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीभित्र सामान्य प्रतिष्पर्धा स्वभाविक हो । तर, हामी अरू दलहरूसँगको छलफल निष्कर्षमा पु¥याउनासाथ आफ्नो उम्मेदवार टुंगो लगाउँछौं ।’

कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओेवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चासहितको पाँच दलीय गठबन्धन ब्युँतिने करिब निश्चित भएको अवस्थामा कांग्रेसले उठाउने उम्मेदवारले नै जित्ने सम्भावना बलियो बन्दै गएको कांग्रेस नेताहरूको भनाइ छ । कांग्रेसका सहमहामन्त्री जीवन परियारले पुरानो पाँच दलीय गठबन्धन ब्युँतने सम्भावना बलियो बन्दै गएको जिकिर गर्दै भन्नुभयो– ‘पार्टीका शीर्ष नेताहरू उम्मेदवारको विषयमा सहमति छुटाउन छलफलमै हुनुहुन्छ । अहिलेसम्म अन्य दलहरूसँग सहकार्यको समेत छलफल भइरहेकाले शुक्रबारसम्ममा निर्णय हुन्छ । राष्ट्रपतिका लागि पार्टीमा वरिष्ठ नेता पौडेलकै सम्भावना बलियो छ । नेता सिटौला पनि योग्य हुनुहुन्छ ।’ यद्यपि, वर्तमान सत्ता गठबन्धन फुटिहालेको अवस्था भने छैन ।

पछिल्लो राजनीतिक कोर्स परिवर्तनप्रति कांग्रेसका नेताहरू उत्साहित देखिएका छन् । कांग्रेसमा गोपालमान श्रेष्ठ, मानबहादुर विकलगायत नेताहरूको समेत नाम चर्चामा आए पनि वरिष्ठ नेता पौडेलसँगै नेता सिटौलाबीच नै प्रमुख प्रतिस्पर्धामा देखिएको छ ।

कांग्रेस र माओवादीबीच बुधबार राती पाँच दलीय गठबन्धन ब्युँताउने र गठबन्धनका तर्फबाट कांग्रेसले राष्ट्रपतिमा शनिबार उम्मेदवारी दर्ता गर्ने मौखिक सहमति भइसकेको नेताहरूले बताएका छन् । उक्त समझदारी बनेसँगै कांग्रेसभत्रिको आन्तरिक राजनीतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रुचि र बाह्य शक्तिको समेत चासोे बढेको छ ।

प्रधानमन्त्री प्रचण्ड र छिमेकी शक्ति राष्ट्र भारतले सिटौलालाई बनाउने चाहना बढेकोले पौडेललाई समस्या हुन सक्ने श्रोतको दाबी छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन विशेष भूमिका सिटौलाको रहेको र प्रचण्डसँग व्यक्तिगत रूपमा समेत राम्रा सम्बन्ध भएका कारण सिटौलाको पक्षमा दाहाल बढी लचक देखिनुभएको बताइएको छ ।

सिटौला १२ बुँदे बृहत् शान्ति सम्झौताका एक महत्वपूर्ण व्यक्ति भएको कुरालाई इंगित गर्दै सोमबार पोखरामा पार्टीको गण्डकी प्रदेश समतिकिो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले १२ बुँदे सहमतिका हस्ताक्षरकर्ताहरू एक ठाउँमा उभिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । तर, कांग्रेसका नेताहरूले भने यसलाई स्वीकार्दैनन् । पार्टीको आन्तरिक राजनीतिमा कही कतैबाट हस्तक्षेप हुन नसक्ने जिकिर गर्दै सांसद एवं पार्टी सहमहामन्त्री परियारले प्रचण्डको उक्त अभिव्यक्तिले सिटौलालाई नै इंगित गरेको नभएर कांग्रेस, माओवादी, मधेसवादी दल र एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको एकीकृत समाजवादीलगायतका दलहरू एक ठाउँ हुनुपर्ने भन्ने अर्थ लाग्ने बताउनुभयो ।

कांग्रेसकै अर्का नेताले पौडेललाई उम्मेदवार बनाउँदा संसद्मा एक सिट घट्ने भएकाले गैरसांसद सिटौलालाई उम्मेदवार बनाउनुपर्ने सुझावसमेत सभापतिकोमा आउने गरेको बताए । उनले भने– ‘कांग्रेसका नेताहरूले पौडेललाई भन्दा सिटौलालाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्नुपर्ने सुझाव सभापतिलाई दिएका छन् । तर, पार्टीले कसको पक्षमा सहमति जुटाउँछ एक दिन त कुनै पर्याे नी ।’

कांग्रेसभित्रको बहुमतले पौडेललाई नै उम्मेदवार बनाउनुपर्ने सुझाव आएको दाबी गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले भन्नुभयो– ‘वरिष्ठ नेता पौडेलकै पक्षमा छलफल भइरहेकाले उहाँकै उम्मेदवार करिब पक्का भएको छ । मलाई लाग्छ उहाँकै पक्षमा निर्णय हुन्छ । पार्टीमा सिनियर, सबै दलहरूलाई मिलाएर लान सक्ने, संविधान, लोकतन्त्रको रक्षक बन्न सक्ने हिसाबले पनि पौडेल नै राष्ट्रपतिको उपर्युक्त उम्मेदवार हुनुहुन्छ ।’