१६ वर्षमै व्यासाचार्य

14
Shares

‘निरन्तरको अभ्यासबाट नै सफलता मिल्दो रहेछ । त्यही साधना र दृढ इच्छाशक्तिकै परिणामस्वरूप आज म ढुक्कसँग व्यासासनमा बसेर श्रीमद्भागवत महापुराण वाचन गर्ने भएको छु ।’ यो भनाइ हो मोरङको पथरीशनिश्चरे–१ का युगलकिशोर अधिकारीको । भर्खर १६ वर्षको केट्यौली उमेर पार गर्दै गरेका युगलकिशोरले ‘बाल व्यासाचार्य’को रूपमा आफूलाई स्थापित गरेका छन् । उनले गत माघ २९ गतेदेखि स्वगृहमा आयोजित श्रीमद्भागवत महापुराणको पाठपारायणसँगै सुमधुर स्वरमा कथा वाचन गरेर सफलतापूर्वक आफ्नो पाण्डित्य प्रदर्शन गरेका हुन् ।

स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान विषय समूह अध्ययन गरिरहेका युगलकिशोरको जन्म २०६३ वैशाख २९ गते भएको हो । पिता युवा दार्शनिक आचार्य पण्डित केवलकृष्ण अधिकारी र माता लक्ष्मीदेवी खनाल अधिकारीका ज्येष्ठ सुपुत्र युगलकिशोरले पिताकै प्रेरणाबाट निरन्तर अभ्यास गरी सफलता प्राप्त गरेका हुन् ।

बाल व्यासाचार्य अधिकारीले भने– ‘पिताको प्रेरणाबाट सुरु गरेको भागवत कथावाचनमा मैले मूलत: मानवहितका लागि ज्ञान र विज्ञानको समन्वय गर्दै दृष्टान्त प्रस्तुत गर्ने गरेको छु । पितासँगै मलाई धरानका पण्डित दीपक पराजुलीले पनि सहजीकरण गर्नुभएको छ ।’ पण्डित पराजुलीले सञ्चालन गरेको भागवतसम्बन्धी अनलाइन कक्षामा युगलकिशोरले उत्साहजनक सहभागिता जनाउँदै थप ज्ञान आर्जन गरेको बुबा पं. केवलकृष्णले जानकारी दिए ।

अहिले युगलकिशोर १ घन्टामै भागवतका १० भन्दा बढी अध्यायको शुद्धसँग पाठपारायण गर्न सक्षम बनेका छन् । यस्तै दैनिक कथानकको क्रमअनुसार प्रसङ्ग मिलाएर स्पष्टसँग बुझाउँदै कथाको विवेचना गर्न सक्ने भएका छन् । व्यासासनमा बसेर भागवत पुराण वाचन गर्नुभन्दा अघि नै उनले कर्मकाण्ड, व्याकरण र ज्योतिषसम्बन्धी ज्ञान पनि आर्जन गरिसकेको पाइन्छ ।

उनले २०६९ सालदेखि सात वर्षसम्म स्थानीय विश्वनाथ संस्कृत गुरुकुलमा मूलत: कर्मकाण्ड र व्याकरण पढेका थिए । सोही समयमा अधिकारीले रुद्री, दुर्गा सप्तशती (चण्डी), गीता, वेद र लघुसिद्धान्त कौमुदीजस्ता धार्मिक ग्रन्थको पनि गहिरो ज्ञान आर्जन गरेका थिए । उनले मावलाका हजुरबुबा कुलचन्द्र खनाल (बुधबारे, झापा) बाट ज्योतिषसम्बन्धी ज्ञान आर्जन गरेका हुन् । कोरोनाकालमा उनले संस्कृत व्याकरण अध्ययन गर्नका लागि के.एन. स्वामीले सञ्चालन गरेका अनलाइन कक्षामा उत्साहपूर्ण सहभागिता जनाएका थिए । ज्योतिषमा सामान्य चिनाटिपन बनाउन र सोको फलादेश गर्न सक्षम युगलकिशोरले लकडाउनको समयमा सोही कार्यबाट समेत मनग्य आम्दानी गरेको बताएका छन् ।

नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका अध्येता युगलकिशोरको औपचारिकरूपमा विद्यालयीय शिक्षाको सुरुवात भने स्थानीय न्यु पेगोडा अङ्ग्रेजी आवासीय माविबाट भएको पाइन्छ । कक्षा १० सम्मै त्यहीँ अध्ययन गरेका अधिकारी पढाइमा सधैँ अब्बल बनेको विद्यालयका निर्देशक टीकाप्रसाद दङ्गालले जानकारी दिए । निर्देशक दङ्गालले भने– ‘पेगोडाको गौरवमा पर्यायवाची बन्ने विद्यार्थीहरूमध्ये युगलकिशोर पनि एक हुन्, उनमा भएको बहुमुखी प्रतिभालाई एउटै वाक्यमा व्यक्त गर्न कठिन हुन्छ ।’ पूर्वीय ज्ञान र दर्शनका अध्येता युगलकिशोर अहिले भने स्थानीय पञ्चायत माविमा विज्ञान विषय समूहअन्तर्गत कक्षा ११ मा नियमित अध्ययन गरिरहेका छन् ।

उनले ऐच्छिक विषयको रूपमा भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान र गणित पढिरहेको विद्यालयका सहप्रधानाध्यापक बुद्धिनाथ अधिकारीले जानकारी दिए । सहप्रधानाध्यापक अधिकारीका अनुसार पढाइसँगै वाक्कलामा समेत उनी अब्बल विद्यार्थी हुन् । विभिन्न अतिरिक्त प्रतियोगिताहरूमा समेत उत्कृष्ट हुँदै आएका युगलकिशोर सामाजिक परिवर्तन र नेतृत्व विकासका आशालाग्दो पात्र रहेको विद्यालयका प्रधानाध्यापक एवम् नेपाल शिक्षक महासङ्घ, पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष अर्जुनकुमार बुढाथोकीको भनाइ छ ।

युगलकिशोर २०७५ सालमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता प्रथम बनेका मात्र होइनन्, स्थानीय लर्डबुद्ध साकोसले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा लगातार २०७५ र २०७६ सालमा प्रथम बने । प्याब्सन पथरीशनिश्चरेले २०७६ सालमा आयोजना गरेको पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका उनी अनलाइन ज्ञानमञ्चजस्ता प्रतियोगितामा पनि पुरस्कृत हुँदै आएका छन् ।

विभिन्न स्तरका प्रतियोगिताहरूबाट युगलकिशोरले आजसम्म २ दर्जनभन्दा बढी पुरस्कार प्राप्त गरिसकेको आमा लक्ष्मीदेवी खनालले जानकारी दिइन् ।

परिपक्वताको सूचक मानिने युवाअवस्थामा मात्र व्यक्तिले सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको पाठपारायण एवम् कथावाचन गर्न सक्छ भन्ने हाम्रो सनातनी मस्तिष्कलाई युगलकिशोरले परिवर्तन गरिदिएका छन् ।

त्यस्तै भारतीय विद्यापीठहरूमा गएर अध्ययन गर्ने मात्र पण्डित बन्दछन् भन्ने नेपाली समाजमा व्याप्त सङ्कीर्णतावादी चिन्तनलाई हटाउन पनि युगलकिशोर उदाहरणीय पात्र बनेको ठम्याइ छ।

दक्षिण एसियाली ज्योतिष महासङ्घका सदस्य एवम् आचार्य पण्डित सीताराम तिम्सिनाले भने– ‘म पनि काशी, वृन्दावन नगई बनेको पण्डित हुँ र आज युगलकिशोर पनि गुलुकूलीय शिक्षा पद्धतिको परिष्कृतरूपबाटै पण्डित बनेकामा ज्यादै खुसी लागेको छ ।’