फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय दु:खद् : ओली

376
Shares

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको टिप्पणी गर्दै उक्त दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय दु:खद् भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो गर्‍यो? आकस्मिक रुपमा त्यो किन गर्नुपर्‍यो? आफैंले त्यो बाटो छाडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो? नेपाली जनतामा परस्परमा लड्ने र लडाउने कुरा स्वीकार गर्न सकिंदैन । हिजो पनि सकिंदैन थियो, आज पनि सकिंदैन र भोलि पनि सकिंदैन ।’

सरकारले गत माघ २९ गते नै फागुन १ गते विदा दिने निर्णय गरेको भए पनि एमाले अध्यक्ष ओलीले ११ दिनपछि बिहीबार पहिलो पटक सार्वजनिक रुपमा त्यो निर्णयको विरोध गर्नुभएको हो ।

नेपाल अफ्रो–एसियाली जनएकता संगठन तथा हिरण्य अन्तर्राष्ट्रिय मैत्री पुस्तकालयले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष ओलीले कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–बंगलादेश बुद्धिष्ट रिलेसन्स’ को विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा कुटनीतिज्ञ श्रेष्ठले नेपालको संस्कृतिलाई विश्वमा चिनाउने र रुस–युक्रेन युद्धका जारी रहेको अहिलेको अवस्थामा विश्व शान्तिका लागि बुद्धको देखाएको बाटोमा हिंड्न उत्प्रेरित गर्ने उद्देश्यले पुस्तक लेखेको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा पर्यटन भन्ने शब्द पश्चिमबाट आएको भए पनि बुद्धबाट नै पर्यटनको अवधारणा शुरु भएको जिकिर गर्दै भन्नुभयो– ‘बुद्धले एसियाको धेरै भाग घुम्नुभएको थियो भने सम्राट अशोक पनि धार्मिक पर्यटनका लागि लुम्बिनी आउनुभएको थियो । बुद्धले बंगलादेश घुमेको तथा त्यहाँको बौद्ध भिक्षुहरू स्वयम्भु, पशुपति र जनकपुरमा आएर बसेको पनि इतिहास छ । नेपालमा ढाकाको कपडा बुन्ने सीप पनि बंगलादेशबाटै भित्रिएको हो ।’ उहाँले मुस्लिम राष्ट्र भएता पनि बंगलादेशले नेपालको बौद्ध सभ्यतालाई सम्मान र प्रवद्र्धन गरेको बताउनुभयो ।

त्यसैगरी नेपालका लागि बंगलादेशका राजदूत सल्लाहउद्दिन नोमन चौधरीले बौद्ध संस्कृति र परम्परा नेपाल र बंगलादेशबीचको प्राचीन सभ्यतालाई जोड्ने कडीको रुपमा रहेको बताउनुभयो ।