मतदाता नामावली सार्वजनिक

0
Shares

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि ८ सय ८१ जनाको मतदाता नामावली सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतदाताको नामावली सार्वजनिक गरेसँगै राष्ट्रपति निर्वाचनको प्रक्रिया शुरू भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रयोजनले स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली सार्वजनिक गरेको थियो ।

संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसद्का ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जना सदस्यको नाम रहेको छ ।

संघीय संसद्का ३ सय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बित सांसद टेकबहादुर गुरुङको मतदाता नामावलीमा समावेश गरिएको छैन । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छैन ।

चौधरी पक्राउ परेको सूचना संसद् सचिवालयमा सुनाइएको अवस्थामा मतदाता नामावली तयार गरिएकाले उहा“को नाम समावेश नभएको हो । चौधरी राष्ट्रपतिबाट माफी पाएर जेल मुक्त भइसकेका छन् । फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश गरिएको छ । कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ ।

प्रतिनिधिसभा कार्यविधिसम्बन्धी नया“ नियमावली नआएका कारण कोइरी निलम्बनमा नपरेका हुन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने बेला उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावलीमा निर्वाचन आयोगले संसद् सचिवालय र प्रदेश सभा सचिवालयबाट पदमा बहाल रहेका सांसदहरूको सूची मगाएर मतदाताको नामावली अन्तिम गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित नामावलीउपर दाबी विरोध गर्ने समय बुधबार ११ बजेपछि ११ गते बिहीबारसम्म तोकिएको छ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ । उजुरी माथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

१३ गते बिहान १० बजेदेखि दिउ“सो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । निर्वाचन फागुन २५ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ ।