सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह भोलि, प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

0
Shares

काठमाडौं । नेपाल अधिराज्य भरिका विभिन्न सरकारी तथा निजि विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम सञ्चालन गरिँदै आएको छ ।

उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई सिनियर डिभिजन तालिम तथा माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई जुनियर डिभिजन तालिम सञ्चालन गरिँदै आएको हो ।

नेपालमा विक्रम संवत् २०२२ बाट यस तालिमको शुभारम्भ भएको हो । यस वर्ष तालिमको पहिलो चरण संस्थागत चरण)अन्तर्गत राष्ट्रिय सेवा दलबाट स्थान विशेषका विद्यालयहरुमा शिक्षकहरु खट्टिई जुनियर डिभिजन तालिम साउन १ गतेबाट मिति कात्तिक १७ गतेसम्म र सिनियर डिभिजन तालिम मिति भदौ १ गतेबाट मंसिर १८ गतेसम्म सञ्चालन भएको थियो ।

त्यस्तै दोस्रो चरणअन्तर्गत देशका विभिन्न स्थानहरुमा रहेका राष्ट्रिय सेवा दलका शिक्षालयहरुमा जुनियर डिभिजन तालिमको वार्षिक सामुहिक क्याम्प मंसिर १८ गतेबाट माघ र१० गतेसम्म (तेस्रो चरणमा) र सिनियर डिभिजन तालिमको वार्षिक सामुहिक क्याम्प पुष २५ गतेबाट माघ २७ गतेसम्म (२ चरणमा) सञ्चालन भएको थियो ।

जुनियर डिभजन तालिमको दीक्षान्त समारोह सम्पन्न भईसकेको छ भने सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह यहीँ फागुन ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सैनिक मञ्चल टुँडिखेलमा हुन गईरहेको छ ।

हालसम्म ६६ हजार सात सय ६७ जना छात्रछात्राले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । यस वर्ष जुनियर डिभिजन अन्तर्गत पाँच हजार नौं सय ७६ जना र सिनियर डिभिजन अन्तर्गत एक हजार सात सय ६८ जना गरी कुल जम्मा सात हजार पाँच सय ६८ जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरेका छन् ।