अमरगढीमा शारीरिक अपांगता परीक्षण शिविर

0
Shares

डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकामा शारीरिक अपाङ्गता परीक्षण शिविर सञ्चालन भइरहेको छ ।

अमरगढी नगरपालिकाको आयोजना र नेपाल राष्टिय समाज कंल्याण संघ कञ्चनपुरको प्रविधिक सहयोगमा नगरपालिकाका बिभिन्न चार स्थानमा शारीरिक अपाङ्गता परिक्षण तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोगी सामग्री वितरण शिविर सञ्चालन भइरहेको हो । डकले आधारभुत स्वास्थ्य केन्द्र, डडेल्धुरा अस्पताल, घटाल स्वास्थ्य चौकी र सहश्रलिंग स्वास्थ्य चौकीमा अपाङ्गगता परिक्षण शिविर सञ्चालन भइरहेको नेपाल राष्टिय समाज कंल्याण संघका फिजियोथेरापी तथा पुर्नस्थापना कार्यक्रमका कोष व्यवस्थापन अधिकृत ऋषिकेश जैरुले जानकारी दिनुभयो ।

अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले शिविरमा शारीरिक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई आवश्यक साधन स्रोतबारे जानकारी लिने र एक महिनापछि सहयोगी सामाग्री हस्तान्तरण गरिने कार्यक्रम रहेको बताउनु भयो । वैशाख महिनाभित्र शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने तयारी रहेको अमरगढी नगरपालिकाले जनाएको छ ।

अमरगढी नगरपालिकाको सामाजिक विकास शाखाका अधिकृत लालबहादुर साँउदले अपाङ्गताको अबस्था परिक्षण गरेर उनीहरुलाई सहज हुने किसिमका सहयोगी सामाग्री खरिद गरेर हस्तान्त्रण गरिने जानकारी दिनुभयो । उँहाले अमरगढी नगर क्षेत्रमा रहेका शारिरक अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज रुपमा जीवन यापन गर्नका लागि शिविर फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । अमरगढी नगरपालिकाकी उपप्रमुख पार्वती झुकालले नगर क्षेत्रमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुले शिविरमा पुगेर अपाङ्गता परिक्षण गरिरहेको जानकारी दिनुभयो ।