यात्रुलाई जोखिम यात्रा गराउने २१ हजार पाँच सयभन्दा बढी चालक कारबाहीमा

0
Shares

काठमाडौं । सवारी साधनमा यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक वर्षको माघ मसान्तसम्म ढोका खुल्ला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार ६२९ जना चालकहरू कारबाहीमा परेका छन् ।

साउन महिनामा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालक रहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले ूढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारबाहीलाई तीव्रता दिइएकोू बताउनुभयो ।

यस्तै, क्षमताभन्दा बढि यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८०२ जना चालकलाई पनि कारबाही गरिएको छ ।

साउन महिनामा ७ सय ९, भदौमा १ हजार ३४, असोजमा ७ सय ४९, कार्तिकमा ७ सय ५९, मसिरमा ७ सय ५९, पुसमा १ हजार ११ र माघ महिनामा ७ सय ८१ जना चालकलाई कारबाही गरिएको हो ।

त्यस्तै ७७ ओटा टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पार्इएपछी उनीहरूलाई कारबाही गरिएको हो ।

क्षमताभन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डीएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गर्नु भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएकोमा सो हदभन्दा बढी राखेर सवारी साधन चलाएमा र लापर्वाहीका साथ सवारी साधन चलाएमा यातायात निरीक्षक तथा प्रहरीले तत्काल १५ सय रुपियाँसम्म जरिवाना गर्ने सक्ने व्यवस्था रहेको पनि उहाँले बताउनु भएको छ ।