सत्ता गठबन्धनले मुलुकलाई दुर्घटनातर्फ धकेल्दैछ : कमल थापा

0
Shares

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले) नेतृत्वको गठबन्धनमा दुईतर्फ विचार फर्केका दलहरू भएकोले यो गठबन्धन अस्वभाविक र अपवित्र रहेको ठोकुवा गर्नुभयो ।

अहिलेको सत्ता गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिँदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने एकै ठाउँमा बसेका छन् । यो गठबन्धन झन् अपवित्र छ ।

यसले मुलुकलाई दुर्घटना तर्फ धकलेको उहाँको जिकीर छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताउनुभयो ।

उहाँले राजतन्त्रर फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने औल्याउनु भयो ।

उहाँले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भएपनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको बताउनुभयो ।

अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने ब्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको बताउनुभयो ।

देशमा विदेशी चलखेल बढ्नुमा दलहरु स्वंयं दोषी भएको बताउँदै अध्यक्ष थापाले मुलुकको स्वाभीमानमा सचेत रहन दलहरुलाइ सुभाब दिनुभयो ।

दुर्गा प्रसाईँ राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा हिँडेको प्रश्नमा बोल्दै थापाले हिन्दुराष्ट्रको पक्षमा आफूहरु पनि रहेको बताउँदै हिन्दुराष्ट्रको विषयमा आवाज उठाउने ब्यक्तिलाई नैतिक समर्थन गर्ने दाबी गर्नुभयोे । कार्यक्रम रिपोटर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।