आज मतदाता नामावली प्रकाशित हुँदै

0
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन लागि आज बुधबार मतदाता नामावली प्रकाशित गर्ने भएको छ । राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गर्न लागिएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशित गरिनेछ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम मतदाता नामावलीमा समावेश गरेको छ । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता हुनेछन् । प्रतिनिधिसभाका २ सय ७५ सांसद हुनुपर्नेमा चितवन क्षेत्र नं २ मा रिक्त छ भने मनाङ क्षेत्र नं १ बाट निर्वाचित टेकबहादुर गुरुङ र कैलाली क्षेत्र नं २ बाट निर्वाचित अरुणकुमार चौधरी निलम्बनमा छन् । राष्ट्रिय सभामा ५९ सांसद जना छन् ।

आयोगका अनुसार फाल्गुण १० गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । सो दिन १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिनेछ । त्यसमा फाल्गुन ११ सम्म दाबी विरोधको उजुरी दिन सकिनेछ  । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ  । उजुरीमाथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ  । १३ गते बिहान १० बजेदेखि दिउ“सो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ  । निर्वाचन फाल्गुण २५ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ  ।

यसैबीच राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनको अनुसूची १ मा उल्लेख भएबमोजिमको मतभारलाई आधार मानेर निर्वाचन सम्पन्न गराउने बताउनुभयो । निर्वाचनसम्बन्धी कानुनले लगत्तै सम्पन्न भएको जनगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको छ । तैपनि २०७८ सालको जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले पुरानै जनगणनालाई आधार मान्नुपरेको थपलियाको भनाइ छ ।

राष्ट्रपति निर्वाचन ऐन २०७४ बमोजिम संघीय सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ । २०६८ सालको नेपालको कुल जनसंख्याको आधारमा सो मतभार कायम गरिएको हो । नेपालको पछिल्लो कुल जनसंख्यालाई संघीय संसदका सदस्यको कुल सङ्ख्याले भाग गर्दा आउने भागफललाई फेरि १ हजार अंकले भाग गर्दा आउने भागफल नै मतभार हुन जान्छ ।

त्यस्तै, प्रदेशसभा तर्फका कुल सदस्य सङ्ख्यालाई नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफललाई फेरि १ हजार अंकले भाग गर्दा प्रदेश सभातर्फको मतभार कायम हुने जाने राष्ट्रपति निर्वाचन ऐनमा २०७४ मा उल्लेख गरिएको छ ।

निर्वाचनमा संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्र रहनेछ  । प्रदेशसभा र संघीय संसद्को मतभार फरक भएकाले दुई वटा केन्द्र कायम गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । फाल्गुन २५ गते दिउ“सो ३ बजेसम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी सा“झ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको तयारी रहेको छ ।

निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदात हुनेछ । त्यसमा कुल मतको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् । कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा फाल्गुन २६ गते नै अर्को निर्वाचन गर्ने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।