कांग्रेसमा समस्या छैन : महत

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसमा कुनै समस्या नभएको बताउनुभएको छ । अरू दलहरूको समर्थन पाउने पक्का हुनासाथ कांग्रेसले उम्मेदवार टुंगो लगाउने महतले बताउनुभएको हो ।

‘कांग्रेसमा उम्मेदवारको विषयमा कुनै समस्या छैन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अरू दलहरूको समर्थन पाउने कन्फर्म हुनासाथ हामीले उम्मेदवारबारे निर्णय गर्छौं । अहिले चर्चामा आएकामध्येबाटै एक जना हुनुहुन्छ ।’ कांग्रेसबाट राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । गोपालमान श्रेष्ठ र दमनाथ ढुंगानाको नामसमेत पछिल्लो समयमा बाहिर ल्याइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिमा अघि सार्ने चर्चाका सन्दर्भमा उहाँले बाहिर अनेक चर्चा भए पनि अहिले सभापति देउवा राष्ट्रपतिको उम्मेदवार बन्न इच्छुक नभएको बताउनुभयो । पाँच दलीय गठबन्धन ब्युँताउने खेलमा कांग्रेस नलागेको समेत महतले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले हामी गठबन्धन ब्युँताउने खेलमा छैनौं, राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित छौं । त्यसपछिको घटनाक्रम कसरी अघि बढ्छ, त्यहीअनुसार सरकार र गठबन्धन अहिलेकै हिसाबले जान्छ कि परिवर्तन हुन्छ भन्ने कुरा राष्ट्रपतिको निर्वाचनले नै निर्धारण गर्छ । अहिले भन्न सक्ने अवस्था छैन ।’