राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धन दलबाटै बन्छ : एमाले सचिव अर्याल

0
Shares

म्याग्दी ।

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले आसन्न राष्ट्रपति पदको निर्वाचनमा वर्तमान सत्ता गठबन्धन दल भित्रैबाट उम्मेदवार बन्ने बताउनुभएको छ ।

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारासहित एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानबारे म्याग्दी सदरमुकाम बेनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव अर्यालले यस्तो बताउनुभएको हो ।
नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको प्रचार तथा प्रकाशन विभागको आयोजना र प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको संयोजनमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै सचिव अर्यालले सत्तारुढ गठबन्धन दलबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने दाबी गर्नुभयो । उहाँले अहिलेको सत्तारुढ गठबन्धनको सरकार गठन हुनुपूर्व भएको सहमतिबाट राष्ट्रपति नबनेको खण्डमा प्रचण्ड नेतृत्वको सरकार ढल्ने चेतावनी पनि दिनुभयो ।

सचिव अर्यालले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारका लागि राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयलाई अन्यथा मान्न नहुने बताउँदै नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धन दलभन्दा बाहिरबाट राष्ट्रपति बनाउँदा आउने जटिलताबारे जानकार नै भएको टिप्पणी गर्नुभयो । उहाँले गठबन्धन दलबाटै राष्ट्रपतिको उम्मेदवार बन्नेमा शङ्का गर्नुनपर्ने बताउँदै मिडिया र बाहिर हल्ला आएजस्तो गठबन्धनभित्र कुनै समस्या नरहेको बताउनुभयो ।

पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहनुभएकी सचिव अर्यालले वर्तमान सरकारले गठन भएको छोटो समयमै देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार्न गरेको प्रयास सकारात्मक रहेको बताउनुभयो । उहाँले अहिलेको सरकारले गरेका प्रयासले आर्थिक अवस्थामा सुधार आउने थालेपछि निजी क्षेत्र र आम नागरिकमा उत्साह छाएको भन्दै वर्तमान सत्ता गठबन्धनको निरन्तरता अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । अघिल्लो सरकारको कारण बिग्रँदै गएको अर्थतन्त्र र यसबाट निराशातर्फ बढेको अवस्थामा अहिलेको सरकारले थोरै भए पनि अर्थतन्त्र सुधार्न गरेको प्रयास सफल भएको उहाँको भनाइ छ ।

सचिव अर्यालले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गर्न दुई महिनाका लागि मिसन ग्रासरुट अभियानको रुपमा सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले नेता, कार्यकर्तालाई पार्टी प्रशिक्षणको माध्यमबाट अवसरवादमुक्त बनाउन ग्रासरुट अभियानको प्रमुख उद्देश्य रहेको भन्दै पार्टीको विधि र विधानभन्दा बाहिर गएर काम गर्नेलाई पहिलो चरणमा शिक्षा दिने र नसुध्रिएको खण्डमा अन्य विकल्पहरु अपनाउने बताउनुभयो ।

एमाले जिल्ला कमिटी म्याग्दीले जिल्ला पार्टी स्कुल विभागको संयोजनमा सोमबार र मङ्गलवार बेनीमा स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधि र अगुवा कार्यकर्ताको भेला गरी प्रशिक्षण दिएको थियो । भेलालाई एमाले केन्द्रीय सचिव अर्याल, पोलिट व्युरो सदस्य मना केसी, केन्द्रीय सदस्य भगवती न्यौपाने, चन्द्रमोहन गौचन, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र सचिव धनन्जय दवाडीलगायत नेताहरुले सम्बोधनको साधमा प्रशिक्षण समेत दिनुभएको थियो ।

मङ्गलवारदेखि म्याग्दीमा सुरु भएको एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत पालिका, वडा र टोलस्तरमा सङ्गठन सुदृढीकरण गर्न भेला तथा प्रशिक्षण आयोजना गर्ने, पार्टीको सदस्यता नवीकरण तथा विस्तार, जनवर्गीय सङ्गठनहरुको वैठक अयोजना र टोल तथा वस्तीस्तरसम्म नेता कार्यकर्ताहरुलाई परिचालन गर्नेलगायत योजनाहरु बनाइएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीले बताउनुभयो ।