हेटौंडा ।
हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पतालको नयाँ भवन उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भवन उद्घाटन गर्नुभएको हो । संघीय सरकारको ४३ करोड लागतमा निर्माण भएको ३ तीनतले भवनको राष्ट्रपति भण्डारीले मंगलबार उद्घाटन गर्नुभयो ।
भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानमा नागरिकका लागि सुनिश्चित स्वास्थ्य सेवाको अधिकार लागु गराउन प्रतिष्ठानले टेवा पु¥याउने बताउनुभयो । उहाँले जनताको स्वास्थ्यका निमित्त स्वास्थ्य क्षेत्रमा विकास हुनु जरुरी रहेको भन्दे प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालबाट हेटौंडा र आसपासका क्षेत्रका बिरामीको सेवा र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा विशेष पहलकदमी आवश्यक रहेको बताउनुभयो ।

उहाँले जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्धढंगले नागरिकको घरदैलोमा पुर्याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापित गर्न र स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रतिष्ठानको भूमिका रहनेमा विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले शारीरिक र मानसिकरुपमा तन्दुरुस्त एवम् सकारात्मक रहनसक्नु वास्तविक अर्थमा स्वस्थ्य भएको बताउनुभयो ।
आमनागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न जननेता मदन भण्डारीको स्मृतिमा भवन निर्माण हुनुले आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।
अध्ययन, अनुसन्धान र स्वास्थ्य सेवा क्षेत्रमा आमनागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यअनुसार जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले हाल जनसंख्या वृद्धि, संक्रामक रोगहरुको प्रकोप न्यूनीकरण गर्ने कुरामा मध्यनजगर गर्दै सार्वजनिक स्वास्थ्य सेवालाई सुदृढ गर्न तीन तहका सरकारको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो ।

भण्डारीले संघीयताको अवधारणाअनुसार देशका सात वटै प्रदेशलाई सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । ‘संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकअन्तर्गत् गुणस्तरीय स्वास्थ्य सेवाप्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघाउ पुर्याउने विश्वास लिएकी छु,’ उहाँले भन्नुभयो । स्वस्थ्य व्यक्तिबाट मात्र स्वस्थ्य समाज, सुदृढ अर्थतन्त्र विकास, स्वाधीन आत्मनिर्भर र सवल राष्ट्र निर्माण हुनसक्छ भन्ने यथार्थलाई कार्यरुप दिन संविधानले मौलिक अधिकारका रुपमा स्थापित गरेको उहाँको कथन छ ।
उहाँले स्वास्थ्यको अनुसन्धान एवम् दक्ष जनशक्ति उत्पादनलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरी स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकलाई उपचार विधिमा विश्वस्त तुल्याउनुपर्ने बताउनुभयो ।
प्रतिष्ठान नयाँ रणनीतिसाथ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले हाल कोभिड, डेंगु, हैजाजस्ता रोगहरुको संक्रमणले चुनौती थपेकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञले समयमै ती रोग नियन्त्रणमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।
प्रतिष्ठानअन्तर्गत् सर्वसाधारण नागरिकलाई तत्काल स्वास्थ्य उपचार सेवा सुलभ गर्न र दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन कार्यलाई जनताप्रति उत्तरदायित्वबोध गर्नुपर्ने उहाँले बताउनुभयो ।
स्वस्थ्य नागरिक उत्पादनका लागि विद्यार्थी तहदेखि नै बालबालिकालाई हेरचाहसहित पोषणयुक्त खाना खुवाउनुपर्ने बताउनुभएकी उहाँले स्वास्थ्य सेवा र शिक्षाका लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजीलाई रोक्न स्वदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नेमा आशा राख्नुभयो ।
प्रतिष्ठान कुलपति तथा वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले प्रदेशभित्र राम्रो स्वास्थ्य शैक्षिक प्रतिष्ठान बनाउने उद्धेश्यले प्रतिष्ठान निर्माण गरिएको बताउँदै उहाँले बिकटमा स्वास्थ्य सेवाप्रवाह गुणस्तरीय बनाउन सरकारले काम गरिरहेका बताउनुभयो ।
‘वागमती प्रदेशको राजधानी हेटौंडा भएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवश्यकता र औचित्य झन् बढेको छ । यो मकवानपुरको गौरवको योजना हो । यसको वृत्तिविकासले सबभन्दा धेरै फाइदा मकवानपुरे नागरिकले नै लिने हुन्,’ प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले भन्नुभयो–त्यससँगै प्रदेशका अन्य जिल्ला र छिमेकी मधेश प्रदेशका केही जिल्लाका नागरिकले पनि अस्पतालमार्फत् सेवा पाइरहेका छन् । क्रमशः सुविधासम्पन्न बन्दै गएको अस्पतालको विकासमा हामी सबै लाग्नु अपरिहार्य छ । अस्पतालको सेवा चुस्तदुरुस्त र गुणस्तरीय हुनु अतिआवश्यक छ ।
प्रदेशको राजधानी भएसँगै स्वास्थ्य सेवामा पछि परेको गुनासोलाई हेटौंडा अस्पतालमा नियमित भएका सेवा विस्तारले कमी गर्दै लगेको हेटौंडा अस्पताल विकास समिति सदस्य उत्सव चौलागाईंले बताउनुभयो । पुरानो भवनमा साँघुरोरुपमा बिरामीको उपचार गर्दै आएको अस्पतालमा हाल नयाँ भवनबाट जनशक्तिसमेत थप गरेर उपचार सेवालाई प्रभावकारीरुपमा अगाडि बढाइएको अस्पतालले जनाएको छ ।
नवनिर्मित भवनबाट अब इमर्जेन्सीकक्ष, ओपीडी सेवा, प्रसुतिकक्ष, विभिन्न रोगबाट प्रभावित बिरामी भर्ना, आईसीयु, भेन्टिलेटर, डायलाइसिस, एक्सरे, अत्याधुनिक प्रयोगशाला, फार्मेसी सेवा दिने लक्ष्य रहेको अस्पताल अध्यक्ष राजेश प्रसाईंले जानकारी दिनुभयो ।
अस्पतालले अब मृगौला प्रत्यारोपण, मुटु र पेटसम्बन्धि शल्यक्रिया उपचार सेवा सुचारु गर्न वागमती प्रदेश सरकार र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले संघीय सरकार र सम्बन्धित निकायलाई पत्राचार गरी कार्यान्वयन गर्नेतर्फ पहल भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले बताउनुभयो ।
२०१६ सालमा १२ बेडबाट स्थापित हेटौंडा अस्पतालमा २०२२ सालमा २२ बेडका रुपमा स्तरोन्नति गर्दै हाल ३ सय बेड सञ्चालनमा ल्याइएको उपकुलपति जोशीले जानकारी दिनुभयो । अस्पतालमा वागमती प्रदेशका चितवन, मकवानपुर, धादिङ, सिन्धुलीसहित मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाबाट विभिन्न रोगका बिरामी उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।
उक्त भवनमा ७० बेड छन् । अब हेटौंडा अस्पतालमा २ सय बेड नियमित सञ्चालनमा रहने छन् । अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमर्जेन्सी बेड ८ बाट २४ वटामा वृद्धि भएको छ । अस्पतालमा हाल ५७ चिकित्सक कार्यरत् रहेकोमा ३८ जना विशेषज्ञ डाक्टर छन् ।
अस्पतालमा मेडिकल अधिकृत १९ जना छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफनर्स ३८ जनासमेत गरेर २ सय स्वास्थ्यकर्मी कार्यरत् रहेको प्रतिष्ठानले जनाएको छ । हाल अस्पतालमा १७ बेडको आईसीयु, २० बेडको एचडीयु क्षमता र ६ बेडको डायलाइसिस सेवा सञ्चालनमा छ ।सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना २०७६ असोज २ गते गरेपछि अस्पतालको परिचय फेरिएको हो ।
प्रतिष्ठानले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवाप्रवाह गर्न साबिक हेटौंडा अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रुपान्तरण गर्ने प्रक्रियालाई अगाडि बढाइ कार्यान्वयनको तहमा गइसकेको छ ।
संघीय सरकारले बीएस कन्स्ट्रक्सन कम्पनीसँग निर्माण सम्झौता गरी २०७६ भदौ ७ गतेदेखि अस्पताल निर्माण सुरु गरेको हो । अस्पताल २०७६ असोज २ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा वागमती प्रदेशसभाबाट नामाकरण भएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख यादबचन्द्र शर्मा, वागमती प्रदेशका सभामुख भुवन पाठक, हेटौंडा उपमहानगर मेयर मीना लामा, प्रतिष्ठान सहकुलपति तथा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रतिनिधिसभा सदस्य महेश बर्तौला र राष्ट्रियसभा सदस्य रामचन्द्र राईलगायतको उपस्थिति थियो ।











प्रतिक्रिया