राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र प्रमुख निर्णायक हो : नेता कोइराला

0
Shares

सिन्धुली। 

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को भूमिका सबैभन्दा प्रमुख हुने बताउनुभएको छ । प्रेस युनियन सिन्धुलीले मंगलवार बिहान सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले माओवादी केन्द्र संसद्मा सानो सिट सङ्ख्यामा रहे पनि राष्ट्रपति निर्वाचनमा भने प्रमुख भूमिकामा रहेको बताउनुभएको हो । ‘सबैभन्दा इम्पोटेन्स के छ भने माओवादी केन्द्रको ३२ सिट त छ । तर, राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रको नै प्रमुख भूमिका रहन्छ ’ । उहाँले भन्नुभयो ।

राष्ट्रपति पदमा काँग्रेसका उम्मेदवारले जित्ने दाबी गर्दै डा. कोइरालाले काँग्रेस र माओवादी केन्द्रका नेतृत्वबीच राष्ट्रपति निर्वाचन केन्द्रित घनिभूत सरसल्लाह र छलफल निरन्तर जारी रहेको बताउनुभयो । ‘अब तपाईँले यति बुझ्नुस् कि नेपाली काँग्रेसले उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ । त्यसमा ढुक्क रहनु होस्’ उहाँले भन्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको भन्ने कुरा चर्चामा छ भन्ने पत्रकारको प्रश्नमा डा. कोइरालाले राष्ट्रपति पदका कारण विभाजन भएका दुई पार्टी एक ठाउँमा उभिन सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले गएको निर्वाचनका बेला बनेको पाँच दलीय गठबन्धन भत्किनुको मुख्य दोषी काँग्रेस नै हो भन्ने कुरा पार्टीले स्वीकार गरेको भन्दै अब त्यस्तो गल्ती दोहोरिन नदिने बताउनुभयो । ‘देशको निर्वाचन प्रणाली नै यस्तो छ की गठबन्धन विना सरकार बन्दै बन्दैन । हामीहरुले निर्वाचनका बेला जुन गठबन्धन बनाएको थियौँ । त्यो गठबन्धन भत्किनुमा काँग्रेसको केही कमी कमजोरी भएको छ । त्यो हामीले स्वीकारेका छौँ ।’ उहाँले भन्नुभयो ।

राष्ट्रपति निर्वाचनलाई लिएर काँग्रेसले अहिलेको गठबन्धन भत्काउन खोजेको हो? भन्ने पत्रकारको प्रश्नमा डा. कोइरालाले काँग्रेसले मात्रै चाहेर वर्तमान गठबन्धन नभत्किने बताउनुभयो । अहिलेको गठबन्धन भत्काउन वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्र नै निर्णायक रहेको उहाँको भनाई छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गर्छौ भने पनि दल भित्रका कुनै पनि व्यक्तिमा राष्ट्रिय सहमति हुन मुस्किल रहेको दाबी गर्नुभयो । उहाँले राष्ट्रपतिका लागि दल बाहिरका कुनै व्यक्तिमा राष्ट्रिय सहमति खोजेमा भने सहमति जुट्न सक्ने आशय राख्नुभयो ।