सञ्चार क्षेत्रले अझै संघीयताको अनुभूति गर्न पाएनन् : अध्यक्ष पोख्रेल

0
Shares

सल्यान।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रले अझै संघीयताको अनुभूति गर्न नपाएको बताउनु भएको छ । उहाँले अहिले पनि सञ्चार सम्बन्धी कानुनका कारण प्रदेश र स्थानीय तहमा सञ्चार माध्यम र पत्रकारिताका क्षेत्रको विकासका लागि राज्यले अभिभावकको भूमिका खेल्न नसकेको बताउनुभयो ।

सोमबार नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको सल्यानको पत्रकारिताको अवस्था र चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले जुन दलको सरकार बने पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बन्न नसकेको बताउनु भयो । राज्यले निर्माण गर्ने कानुनहरूले प्रेस स्वतन्त्रतामा सुनिश्चित हुन्छ भनेर आश्वस्त पार्न नसकेको भन्दै उहाँले सरकारले सञ्चार क्षेत्रको अभिभावकत्व ग्रहण गर्न नसकेको बताउनु भयो । आम सञ्चार प्रतिष्ठान बनाउनका लागि महासंघले बर्षौ देखि आवाज उठाउँदै आएको, र सरकारको बजेट भाषणमा समेटिए पनि अहिले सम्म गठन हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो, “ राज्य अहिले सम्म हाम्रो अभिभावक बन्न सकेको छैन, “ हाम्रो दिगोपनाको लागि काम गरौँ भन्दा पनि छैन, प्रेस स्वतन्त्रता सम्बन्धी कानुन बनाएर अभिभावकत्व ग्रहण गर भन्दा पनि ध्यान दिँदैन, मिडियाको प्रवर्द्धनका लागि राज्य उदासीन देखिएको छ ।   नागरिकका सूचना दिने काम सञ्चार माध्यामको भएकाले विकासका नाममा, भौतिक पूर्वाधार निर्माण गर्नु मात्र नभएर सञ्चार क्षेत्रका दिगो विकासका लागि राज्यले लगानी गर्न आश्स्यक रहेको बताउनु भयो । सञ्चार क्षेत्रको लागि भनेर छुट्ट्याएको बजेट मिडियामै खर्च गर्नुपर्ने, र मिडियालाई मोलमोलाइको रुपमा नहेर्न आग्रह गर्नुभयो ।

अध्यक्ष पोख्रलले पत्रकाहरुका विषयमा पनि समाजमा विभिन्न प्रश्न उठेकाले पत्रकार पेसालाई व्यवसायी र मर्यादित बनाउनको लागि महासंघ प्रतिबद्ध भएको भन्दै शुद्धीकरण अभियान सञ्चालन गरिने बताउनु भयो । सूचना दिने र लिने मात्र नभएर नयाँ आयामको खोजी गरेर पत्रकारिता गर्नु अहिलेको आवश्यकता भएको पोख्रेलले बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सल्यानको पत्रकारिता स्वच्छ, मर्यादित रहेकाले यसलाई कायम राख्नु पर्ने बताउनुभयो । उहाँले पत्रकारहरुको भूमिका जिल्लाको विकासमा केन्द्रित भएकाले सुरक्षित पत्रकारिताका लागि आफूले सहयोग गर्ने बताउनु भयो  ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रमेश गौतमले प्रविधिमा भएको विकासले पत्रकारितामा अवसर सँगै चुनौती थपिएको बताउनुभयो । अहिलेको  चुनौतीलाई सीप क्षमता अभिवृद्धि गरेर समाधान गर्न सकिने भएकाले सूचनाका वहुआयामिक विषय खोजी गरेर  समुदायमा लैजानु पर्ने बताउनु भयो ।